बागमतीको नतिजाले काँग्रेसको भावी सभापति देखाउने गगन थापाको टिप्पणी
काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले बागमती प्रदेशको नतिजाले पार्टीको केन्द्रमा कस्ले चुनाव जित्छ भन्ने देखाउने टिप्पणी गरेका छन् । उनले हेटौंडामा आज आफूपक्षीय नेताहरुसहितको भेटघाटमा बागमती प्रदेश निकै महत्वपूर्ण भएको बताए ।
‘बागमतीको परिणामले काठमाडौंमा २६ गते हुने महाधिवेशनमा आउने निर्णय समेत देखाउनेछ,’ थापाले भने,‘त्यसैले हामी यहाँ जितेर तागतसहित काठमाडौं पुग्नेछौं ।’
संस्थापनइतर समूहका थापाले आफ्नो पक्ष जितेर सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुलाई दबाब दिने बताए । उनले भने,‘हामी साझा उम्मेदवार तय गर्न तागतसाथ नेताहरुको घर घेर्न सम्म पुग्नेछौं ।’
थापाले बागमती प्रदेश सभापतिका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई जिताएर आफ्नो पक्षलाई बलियो रहेको प्रमाणित गर्ने बताए । उनले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीमा आफूहरु बलियो रहेको दाबी गरे ।







