कांग्रेस बागमतीको अधिवेशनमा प्रतिनिधिलाई सास्तीः हेटौँडाको गाँस, सौराहाको बास
मकवानपुर । हेटौँडामा १६ मंसिरदेखि १८ सम्म हुने नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनमा आएका प्रतिनिधिले यहाँका होटल भरिएका छन् ।
प्रदेश मुकाम हेटौँडाका करिब ८० वटा लजसहितका होटल महाधिवेशनमा आउने प्रतिनिधिले भरिएका हुन् । अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि, केन्द्रीय अधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापतिलगायतका गरी करिब दुई हजारदेखि २५ सय हाराहारीमा प्रतिनिधिहरू आउनेछन् ।
अधिवेशन सचिवालयले भने यो समाचार तयार पार्दासम्म अधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली प्राप्त भइनसकेको जानकारी दिएको छ । अधिवेशन सचिवालय समिति संयोजक प्रदीप कोइरालाले कति प्रतिनिधि आउँदैछन् भन्ने निश्चित संख्या सचिवालयसँग नभएको र अन्तिम नामावली कांग्रेस केन्द्रीय कार्यालयबाट दिन ढिलाइ भएको बताए । हेटौँडाका होटलमा १४ सय प्रतिनिधि मात्रै अट्ने कोइरालाले बताए ।
हेटौँडामा नअटेका प्रतिनिधिलाई बासको व्यवस्थापन चितवनको सौराहामा गरिएको अधिवेशनका लागि गठित यातायात व्यवस्थापन समिति संयोजक तथा कांग्रेस हेटौँडा उपमहानगरका निवर्तमान सभापति आनन्दराम पराजुलीले जानकारी दिए । सौराहाका विभिन्न होटलमा ४ सय वटा रुम बुक गरिएको उनले शिलापत्रलाई बताए । ‘सौराहामा ४ सयवटा रुम बुक गरिएको छ । जसमा ८ सय अट्नेछन्,’ उनले भने ।
सौराहामा बस्ने प्रतिनिधिले अधिवेशनमा सहभागी हुन हेटौँडा आउनुपर्नेछ । सौराहामा बास बसे पनि खानाको व्यवस्था भने हेटौँडामै गरिएको कांग्रेस मकवानपुरका प्रवक्ता तथा सचिवालय समिति संयोजक कोइरालाले बताए ।
‘सौराहामा प्रतिनिधिहरू बास बस्ने मात्रै हो । बिहान खाना खान त हेटौँडा नै आउनुपर्नेछ,’ उनले भने । सौराहाबाट प्रतिनिधिलाई हेटौँडा ल्याउन ३० वटा बसको व्यवस्था गरिएको यातायात समितिले जानकारी दिएको छ ।
होटल एसोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले कांग्रेस अधिवेशनमा आएका प्रतिनिधिले हेटौँडाका होटल भरिएको बताए । उनका अनुसार हेटौँडामा करिब ८० वटा होटल छन् । जसमा १५ सय मात्रै अट्ने क्षमता रहेको श्रेष्ठले बताए । हेटौँडामा बागमती प्रदेशको राजधानी हुनुअघि ६० वटा मात्रै होटल थिए । त्यसयता २० वटा लजसहितको होटल सञ्चालनमा आएको श्रेष्ठ बताउँछन् ।
साभारः नवीन तिमल्सििना/शिलापत्र







