युनिलिभरबाट बरामद चियापत्ती नष्ट गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रबाट बरामद गरिएको म्याद गुज्रिएका चियापत्ती नष्ट गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार बरामद गरिएको ३२ टन म्याद गुज्रिएको चियापत्ती नष्ट गर्ने निर्णय गरेको हो । प्रशासनले सोमबार कम्पनीका प्याक्ट्री म्यानेजर र एक सप्लायर्सलाई समेत प्रचलित कानूनबमोजिम १०/१० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
युनिलिभरले आम उपभोक्तालाई ठगी गर्नेगरी म्याद नाघेको ‘सिटिसी’ नाम उल्लेख भएको र अन्य नामका चियापत्ती प्रशोधन गरी ‘रेड लेबल’ ब्राण्डका रुपमा बजारमा बिक्री गर्ने तयारीका साथ ३२ टन चियापत्ती भण्डार गरेर राखेको थियो ।
सन् २०१९ मा उत्पादित चियापत्तीको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । गएको भदौ १५ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गएको अनुगमन टोलीले सो चियापत्ती बरामद गरी प्रशोधन केन्द्रमा शिल गरेको थियो ।







