मकवानपुरका स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गरिँदै
मकवानपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडाले स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्ने भएको छ ।
कार्यलयले मकवानपुर जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवाल पक्षस“ग स्थानीय तहमा हुने मतदाता नामावली संकलनको विषयमा जानकारी गराएको हो । निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार दुई चरणमा गरेर स्थानीय तहमा नामावली संलकन गर्न लागिएको हो । पहिलो चरणमा मंसिर १७ गतेबाट पुस २ गतेसम्म र दोस्रो चरणमा पुस ५ गतेबाट १९ गतेसम्म मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा मकवानपुरको भीमफेदी, इन्द्रसरोबर, मनहरी, वैकया र गढी गाउँपालिकामा नामावली संकलन गरिनेछ । दोस्रो चरणमा वागमती, थाहा नगरपालिका, राक्सिराङ र कैलाश गाउँपालिका केन्द्रमा अस्थायी कार्यालय स्थापना गरेर मतदाता नामावली संकलन गरिनेछ । हेटौंडा उपमहानगरपालिका हकमा जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोग कार्यालयबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाइएको छ ।
‘आयोगले विशेष कार्यक्रममार्फत् नामावली संकलन गर्न लागेको हो । अहिले स्थानीय तहमा जाने टोलीले त्रुटी सच्याउने र स्थान परिवर्तन गर्ने काम गर्दैन । १८ वर्ष पुगेकाहरुको नाम मतदाता नामावली थप्ने काम मात्र गर्दछ ।’, उनले त्रुटी सच्याउने र मतदाता केन्द्र वा जिल्ला परिवर्तनको काम कार्यालयबाट मात्र हुने प्रष्ट्याए । मतदाता नामावली संकलन गर्न चारजना कर्मचारी र प्राविधिक टोली प्रत्येक स्थानीय तहमा पठाइनेछ । ‘स्थानीय तहसँगको समन्वयमा काम गर्नेछौं । हामी स्थानीय तहमा रहेका राजनीतिक दलको सहयोगमा काम गर्नेछौं ।’, उनका अनुसार प्रतिदिन एउटा स्थानीय तहबाट बढीमा १५० जनासम्मको नाम संकलन गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
मतदाता नामावली संकलनलाई चुस्तदुरुस्त बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहका जनप्रतिनिधि र जिल्ला सुरक्षा समितिमार्फत् आन्तरिक तयारी पूरा गरिसकेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनको तयारीमा देश अगाडि बढिसकेको छ । हामीले जिल्लाका राजनीति दलसँग आवश्यक छलफल र समन्वय गरिसकेका छौं । मतदाता नामावली संकलन गर्ने टोलीलाई आवश्यक सुरक्षा प्रदान गर्न हामी तयार छौं ।’, उनले भने ।
जिल्लाका राजनीतिक दलहरुले निर्वाचनको समयमा मात्र नामावली संकलन गर्नुभन्दा प्रत्येक वर्ष वडामै पुगेर मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आयोगलाई आग्रह गरेका छन् । कात्तिक मसान्तसम्ममा मकवानपुरका कुल मतदाता २ लाख ८० हजार १ सय ८१ जना रहेका छन् । जसमध्ये महिला १ लाख ३७ हजार ४ सय ७२ र पुरुष १ लाख ४२ हजार ७ सय ३ जना रहेका छन् ।







