बलात्कार उद्योगमा थुनामा रहेका व्यक्ति छुटाउने भन्दै २० लाख असुल्ने युवती पक्राउ

अखबार हब
२०७८ मंसिर १३, सोमबार १६:१४

काठमाडौं । बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग)को कसूरमा थुनामा रहेका एक चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख रुपैयाँ असुल्ने युवती पक्राउ परेकी छन्। जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै २० लाख रुपैयाँ असुल गर्ने २७ वर्षीया रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो।

काभ्रेको पनौती नगरपालिका–१० की थापालाई महानगरीय अपराध महाशखाको टोलीले पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार थापाले बलात्कार उद्योगको मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिक लुई युउलाई छुटाउने भन्दै रकम असुलेको पाइएको छ।

चिनियाँ नागरिक युउकी श्रीमती चितवनको रत्नगर नगरपालिका–३ टाँडीकी कमला भुषालसँग युउलाई छुटाउने भन्दै थापा र मन्जु ओली नाम गरेका युवतीले २० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ। रकम लिएर सम्पर्कबिहिन भएपछि भुषालले आफू ठगिएको भन्दै महाशाखामा उजुरी दिएकी थिइन्।

भुसालकै उजुरीको आधारमा प्रहरीले थापालाई आइतबार काठमाडौंको छाउनीबाट पक्राउ गरेको हो। वकिल र न्यायाधीशसँग राम्रो चिनजान भएको र सेटिङमा युउलाई छुटाउने प्रलोभन देखाएर थापाले भुसालबाट २० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकी थापामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। ओली भने अहिलेसम्म फरार छिन्।

यसमा तपाइको मत

Your email address will not be published.


*