को–को आउलान् एमाले पदाधिकारीमा ?
चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनबाट आज १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुन लागेको छ।
चितवनको सौराहामा जारी महाधिवेशन निर्धारित मिति आइतबार नै सम्पन्न हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। तर, वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदमा कसलाई लैजाने भन्ने टुंगो लागेको छैन।
नेता भीमबहादुर रावलले अध्यक्षमा उठ्ने घोषणा गरे पनि केपी शर्मा ओलीलाई चुनौती दिन सक्ने देखिएको छैन। चुनाव हुँदा वा नहुँदा ओली नै अध्यक्षमा दोहोरिने निश्चित प्रायः छ।
ओलीलाई निर्विरोध हुन दिन रावलले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी प्रस्तुत गर्ने देखिन्छ। यो पदमा दुई पटक महासचिव भईसकेका ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ लगायतले पनि दाबी गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा पोखरेलको सम्भावना बलियो रहेको उनी निकट एक नेता बताउँछन्। नेम्वाङलाई भविष्यमा कुनै राजकीय पदमा लैजाने गरी मिलाउन सकिने ती नेताको भनाइ छ।
एमालेका ६ जना उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, भीम रावल, रामबहादुर थापा, विष्णु पौडेल वा शंकर पोखरेलमध्ये एक, घनश्याम भुसाल, लालबाबु पण्डित, किरण गुरुङ लगायतको नाम चर्चामा छ।
महासचिवमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल लगायतको दाबेदारी छ। पौडेल र पोखरेलमध्ये एक जनापछि हट्दा पाण्डेलाई उपमहासचिवमा मनाउन सकिने ओली पक्षका नेताहरूको विश्वास छ।
तीन उपमहासचिवमा पाण्डे, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको सम्भावना बलियो देखिन्छ। यद्यपि गोकर्ण विष्टले पनि उपमहासचिवमा दाबी गरेका छन्।
योगेश भट्टराईले पुनः सचिवमै दोहोरिन चाहेका छन्। सचिवमा छविलाल विश्वकर्मा, लेखराज भट्ट, विन्दा पाण्डे, पद्मा अर्याल लगायतको नाम चर्चामा छ।
निवर्तमान उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगमा लैजाने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
अध्यक्ष ओली सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन्। शनिबार नै महाधिवेशनको बन्दसत्रबाट उनलाई सर्वसम्मति गर्न सबै अधिकार दिइएको छ। यसमा अध्यक्षको दावेदार रावलले विरोध जनाएका छन्।
सहमतिको प्रयास जारी राख्दै अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया अघि बढाउन एमाले केन्द्रीय निर्वाचन आयोगलाई अनुमित दिएको छ। “अध्यक्ष मण्डलले निर्वाचनको कार्यक्रम अघि बढाउन निर्देशन दिइसकेको छ,” आयोगका अध्यक्ष विजय सुब्बाले हिमालखबरसँग भने, “अब हामी निर्वाचनको प्रक्रिया अघि बढाउँछौं।”
आज बिहानैदेखि अध्यक्ष ओलीले सहमतिका लागि अन्य नेतासँग छलफल गरिरहेका कारण निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको थिएन। शनिबार नै उम्मेदवारी दर्ता गर्ने र आज मतदान गर्ने महाधिवेशनको कार्यतालिका थियो।







