स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने
काठमाडौं । युवा तथा सानाव्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।
बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो ।
२०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दै आएको भएपनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैङ्कमार्फत पनि लगानी गर्न लागेको हो । कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ । जसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनेका छन् ।
त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नको लागि पछिल्लो पटक गरिमा विकास बैङ्कसँग रू. ५ करोड थोककर्जा लगानीको लागि मङ्सिर ०८ गते सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।







