राप्रपाको अध्यक्षमा राजेन्द्रप्रसाद लिङ्देन भिड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राप्रपाका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको समर्थन छ । लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष हुन् ।
घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले पार्टीलाई चुस्तदुरुस्त बनाउन भूमिका नखेलेको आरोप लगाएका छन्। आगामी मंसिर १५–१७ मा काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भएका छन् ।







