मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु फरेस्ट्री क्याम्पसको सांकेतिक प्रदर्शन
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थानका विद्यार्थीले सांकेतिक प्रदर्शन गरेको छ ।
अनेरास्ववियु मकवानपुरको संघर्षको कार्यक्रम स्वरूप शनिबार मसाल जुलुस भएको थियो, हिजो मकवानपुर बहुमुखी क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको थियो भने आज अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थान कमिटिको संयुक्त आयोजनामा ग्यासको सिलिण्डरलगायत पेट्रोलियम पदार्थ देखाई सांकेतिक प्रदर्शन गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गर्दै सांकेतिक प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्योइएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
प्रदर्शनमा ‘अनेरास्ववियु जिन्दाबाद, प्रधानमन्त्री राजिनामा दे, सडक हामी तताउँछौ, मूल्य वृद्धि घटाउँछौ, परमादेश सरकार मुर्दाबाद, नाफा घाटा जान्दैनौ मूल्य वृद्धि मान्दैनौ’ लगायतको नारा लगाएका थिए ।
प्रदर्शनको अध्यक्षता ईश्वर जोशीले गरेका थिए भने अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेलको प्रमुख अतिथियता रहेको थियो ।







