शिक्षा मन्त्रालयकै अनुमतिमा सञ्चालित दुई अवैध कलेज
काठमाडौँ । शिक्षण संस्थाको अनुगमन र नियमन गर्ने शिक्षा मन्त्रालयकै अनुमतिमा अवैध रूपमा कलेज सञ्चालन गरेको पाइएको छ । विदेशी सम्बन्धनका कलेजको सेयर दिने प्रलोभनमा करोडौं ठगी गर्ने सञ्जय झाले शिक्षामन्त्रीदेखि कर्मचारीसम्मको मिलेमतोमा नेपालमा अवैध रूपमा दुई वटा कलेज सञ्चालन गरिरहेको तथ्य फेला परेको हो ।
कलेजको नाममा ३ करोडभन्दा बढी ठगी गरेको आरोपमा अढाई महिनादेखि अदालतको आदेशमा झा थुनामा छन् । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले झालाई ४ वर्षअघि विश्वविद्यालयको मान्यता नै नपाएको शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा कलेज सञ्चालन गर्न अनुमति दिएको पाइएको हो । परराष्ट्र मन्त्रालयले स्विट्जरल्यान्डको युरेका विश्वविद्यालय आफैंमा फर्जी शैक्षिक संस्था भएकाले त्यसको सम्बन्धन लिनु गैरकानुनी हुने पत्राचार गर्दागर्दै पनि ती कलेजले २०७४ देखि नेपालमा सयौं विद्यार्थी पठनपाठन, परीक्षा र प्रमाणपत्र वितरण गर्दै आएको देखिन्छ ।
श्रेष्ठपछिका शिक्षामन्त्रीहरू गिरिराजमणि पोखरेल, कृष्णगोपाल श्रेष्ठ र हाल देवेन्द्र पौडेलले पनि अवैध कलेज सञ्चालनलाई निरन्तरता दिँदै आएका छन् । तत्कालीन शिक्षा सचिव मधुप्रसाद रेग्मी र उच्च शिक्षा महाशाखाका तत्कालीन सहसचिव सूर्य गौतम, उच्च शिक्षा शाखाका तत्कालीन उपसचिवहरू केशव अधिकारी र लक्ष्मीकुमार खड्काको मिलेमतोमा अवैध कलेजलाई सम्बन्धन दिएको पत्र कान्तिपुरले फेला पारेको छ । हाल रेग्मी शिक्षक सेवा आयोगको अध्यक्ष, गौतम श्रम तथा रोजगार मन्त्रालयका सचिव र खड्का उच्च शिक्षा शाखामा उपसचिव नै छन् भने अवकाश प्राप्त उपसचिव अधिकारीले विदेशी सम्बन्धनका केही कलेजका एजेन्डाका रूपमा मन्त्रालयभित्र ‘बिचौलिया’ का रूपमा काम गर्ने स्रोतको दाबी छ ।
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ को आधारमा परराष्ट्रले फर्जी विश्वविद्यालय ठहर्याएको युरेकाबाट लिएको सम्बन्धनका आधारमा केन्ट कलेज काठमाडौं र फोर्ब्स कलेज चितवनलाई अवैध रूपमा कक्षा सञ्चालनको अनुमति दिएको हो । शिक्षा मन्त्रालयको तथ्यांकमा केन्ट कलेज हाल धरानमा सञ्चालित छ तर उक्त कलेजले काठमाडौंको बुद्धनगरमा गैरकानुनी रूपमा पठनपाठन गरिरहेको छ । दर्तामा धरान रहे पनि केन्ट कलेजले शिक्षा मन्त्रालयका कर्मचारीकै मिलेमतोमा काठमाडौंमा शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । कलेजको वेबसाइटमा विद्यार्थी भर्नाको सूचनासमेत जारी गरिएको छ । त्यस्तै फोर्ब्स कलेज चितवनमा २ सय ५० विद्यार्थी अध्ययन गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । दुवै कलेजका सञ्चालक रहेका झाले केन्ट कलेजको सेयर दिने भन्दै प्रवीणकुमार झालगायतसँग ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेका हुन् । कान्तिपुर दैनिकबाट







