अदालतमा भएका घटनाले कांग्रेस चिन्तित छ, अदालतबाटै उचित निकास निकाल्नुपर्छ : एनपी साउद

अखबार हब
२०७८ कार्तिक २८, आईतवार १९:१७

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अदालतमा भइरहेका घटनाले कांग्रेसलाई चिन्तित बनाएको बताएका छन् ।

‘अदालतमा भएका घटनाले जनविश्वास र आस्थामा आघात पुगेको छ र यसमा नेपाली कांग्रेस चिन्तित छ । यो कुरालाई अदालतले नै आमत्सात गरेर उचित समाधान दिनुपर्छ,’ बुढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

नेता साउदले अदालतसँग सम्बन्धित समस्या अदालतबाटै निराकरण हुनुपर्ने धारणा कांग्रेसको रहेको बताए । ‘अदालत स्वतन्त्र र स्वायत्त छ । यसको मर्यादाको संरक्षण हुने किसिमले अदालतबाटै यसबारेमा उचित निर्णय हुनुपर्छ,’ उनले भने ।

राज्यको एउटा स्वतन्त्र निष्पक्ष अंगको बारेमा अर्को अंगले बोल्दा प्रजातन्त्रको संस्थागत विकास, संविधान र शक्ति पृथकीकरणको सिद्धान्तलाई टेवा नपुग्ने उनको तर्क छ । ‘त्यसकारण अदालतको विवाद अदालतबाटै टुंग्याउनुपर्छ । आन्दोलनकारी साथीहरुले बोल्दिनुपर्‍यो भन्नुभएको छ । तर हाम्रो मान्यता अदालतबाटै उचित निकास निकाल्नुपर्छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*