मुख्यमन्त्री पाण्डेले रोके विद्युतीय बस खरिद प्रक्रिया
मकवानपुर । वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ बाट विद्युतीय बस सञ्चालनको घोषणा गरेपनि खरिद प्रक्रिया भने रोकेको छ ।
पूर्वाधारको तयारी नहु“दै कमिसनको चक्करमा लागेर अघिल्लो सरकार विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डे नेतृत्वको वर्तमान सरकारले सम्पूर्ण प्रक्रिया तत्कालका लागि रोकेको हो । ‘विद्युतीय बस राख्नका लागि खरिद गर्नुहु“दैन । खरिद गरेपछि सञ्चालन गर्नुपर्छ । आवश्यक भौतिक पूर्वाधार तथा कानुन निर्माण गरेर मात्र हामी बस खरिद गर्छौ ।’, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले चालु आर्थिक वर्षमा बस खरिद गर्ने सम्भावना नरहेको बताए ।
अघिल्लो डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस सञ्चालनका लागि टेण्डर आव्हान गरेको अवस्थामा हाल सत्तामा रहेको गठबन्धन दलहरु माओवादी केन्द्र, कांग्रेस तथा जसपाका सांसदहरुले पूर्वाधार निर्माण विना नै बस खरिद गरेर सरकार कमिसनको चक्करमा फसेकेको आरोप लगाउ“दै चार पटकसम्म सदन अवरुद्ध गरेका थिए ।
सरकारले वि.सं. २०८५ भित्र प्रदेशको मुख्य सहरहरुमा इन्धनबाट चल्ने सवारी विस्थापित गर्ने नीति अघि सारेको छ । सोही अनुसार विद्युतीय बस खरिदको विषयलाई प्रथमिकता दिएर आगामी आर्थिक वर्षदेखि बस सञ्चालनको तयारी गरिएको थियो । ‘हामीलाई विद्युतीय बस खरिद प्रक्रिया रोक्नु भनेर निर्देशन आएको छ । हामी रोक्छौं । तत्काल बस सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत हुन निर्देशन मुख्यमन्त्रीबाट भएको छ ।’, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव साहले भने ।
चालु आर्थिक वर्षमा विद्युतीय बसका लागि ५० करोड रुपैया“ विनियोजन भएको छ । सरकारले ३० वटा विद्युतीय बस खरिद गर्ने गरी ग्लोबल टेण्डर आह्वान गरेपनि तोके अनुसारको दररेटमा टेण्डर नपरेपछि खरिद प्रक्रिया रोकिएको थियो । दोस्रो पटक पनि टेण्डर आव्हानको तयारीमा भौतिक पूर्वाधार मन्त्रालय पुगेको थियो । २० वटा काठमाडौं उपत्यकामा सञ्चालन गर्ने र १० वटा उपत्यका बाहिर चल्ने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
अघिल्लो प्रदेश सरकारले २०७९ जेठबाट बस सञ्चालन गर्ने घोषणा गरेको थियो । ‘चैतसम्म चार्जिङ स्टेशन निर्माण गर्ने र आवश्यक कानुन तयार गर्ने, २०७९ बैशाखमा १५ वटा चार्जर जडान गर्ने र जेठबाट ३० वटा बस आपूर्ति भई सञ्चालनमा आउने कार्यतालिका प्रदेश सरकारले तय गरेको थियो ।’, मन्त्रालयका एक कर्मचारीले भने ।
पहिलो चरणमा काठमाडौं चक्रपथ र भरतपुर–हेटौंडासम्मको रुटमा सिटीबस सञ्चालन गर्ने र बनेपा–काठमाडौं–भरतपुर–हेटौंडा, धुलिखेल–काठमाडौं–भरतपुर र विदुर–गल्छी–काठमाडौंमा कोच बस सञ्चालन गर्ने गरी रुट तयार गरिएको थियो । दोस्रो चरणमा काठमाडौं उपत्यकाको भित्रि सहरी सडक, चितवन–हेटौंडा नगर बस, काठमाडौंमा पर्यटकीय दर्शन सेवा सिटी बसमार्फत् सञ्चालन गरिने बताइएको छ । दोस्रो चरणमा कोच बस भने बनेपा–धादिङ, काठमाडौं–जिरी, काठमाडौं–चौतारा, काठमाडौं–बाह्रविसे र चरिकोट–मन्थली–सिन्धुली रुटमा विद्युतीय बस सञ्चालन गर्ने बताइएको थियो ।
आर्थिक वर्ष ०७६/७७ मा नै विद्युतीय बस खरिदको लागी २८ करोड छुट्याइएको भए पनि खर्च गर्न नसक्दा बजेट फ्रिज भएको थियो । सरकारले चालु आव ०७७/७८ मा पनि ४० करोड रुपैया“ बजेट विनियोजन गरेको भए पनि खर्च भएन । चालु आर्थिक वर्षमा विद्युतीय बस खरिदका लागि विनियोजन गरिएको बजेट रकमान्तरण गरेर खर्च हुने क्षेत्रमा प्रयोग गरिने मन्त्री शर्माले बताए ।







