भैंसे–भीमफेदी सडक अझै अलपत्र, दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १०:०४

मकवानपुर । हेटौंडा–काठमाडौं जाड्ने छोटो मार्गअन्तर्गत भैंसे–भीमफेदी सडक खण्ड स्तरोन्नतीको कार्य अलपत्र हुँदा यात्रुले सास्ती भोग्नु परेको छ ।
वर्खाको बहानामा निर्माण कार्य रोकिएपनि ठेकेदार कम्पनीले हालसम्म काम सुरु गरेको छैन् । भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले मुआब्जाको विषय उठाएपछि सडक निर्माण कार्य रोकिन पुगेको थियो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी गाउँपालिकाको भैंसेदेखि भीमफेदीसम्मको ११ किलोमिटर सडक स्तरोन्नती गर्ने काम भइरहेको थियो ।

मन्त्रालयले करिब ६५ करोड लागत अनुमान गरेर टेण्डर खुलाउँदा आशिष डीएस जेभीले ३८ करोड रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले असार २०७९ सम्म सडक निर्माण कार्य सक्काउनु पर्ने सम्झौता छ । भीमफेदी–४ का स्थानीयले सडक स्तरोन्नती गर्न जग्गाको मुआब्जा मागेपछि काम रोकिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा। सहदेव भण्डारीले जानकारी दिएका छन् ।

मुआब्जा विवादले सडक स्तरोन्नती कार्य रोकिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय जनप्रतिनिधसँग समस्या समाधानका निम्ति पहल गरेका थिए । प्रजिअ पाण्डेले मुआब्जाको विषय टुंग्याउन २५ भदौसम्मको समय सीमा स्थानीयलाई दिएको निमित्त निर्देशक भण्डारीले बताए । ‘मुआब्जा विवादले सडक रोकिएको हो । अब सिडिओ साहेबले पहल गरिरहनु भएको छ । २५ गतेसम्मको समय दिएकोले मुआब्जा समस्या समाधान हुन्छ होला, त्यसपछि काम सुरु हुन्छ ।,’ भण्डारीले भने ।

उनका अनुसार भीमफेदीको ४ नम्बर वडामा ५–६ किलोमिटर सडक खण्डको निर्माण हुन नसकेको हो । उक्त क्षेत्रमा पर्ने घर, जग्गा हटाउन प्रदेश सरकारलाई हम्मे परेको हो । स्थानीयले मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिएपछि प्रदेश सरकारले स्थानीयसँग छलफल अगाडि बढाएपनि हालसम्म त्यसले सार्थकता पाउन सकेको छैन् । भण्डारीका अनुसार ४ नम्बर वडामा पर्ने एकसय जनाको घर, सय जनाकै हाराहारीमा जग्गा परेको छ । त्यस्तै करिब ४० वटा ऐलानी जग्गामा बनेको घर पन्छाएर सडक विस्तार गर्नुपर्ने देखिन्छ ।

स्थानीय जन– प्रतिनिधिहरुले जनतासँगको छलफलपछि सहमती खोजेर मात्रै सडक विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले स्थानीयसँग छलफल भइरहेकोले छिट्टै निकास निस्कने बताए । सडक स्तरोन्नतीमा अवरोध आउना साथ काम सहजसँग अगाडि बढ्न नसकेको हो । यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. भण्डारीले सार्वजनिक जग्गामा पनि मुआब्जा माग गरिरहेकोले समस्या बढाएको बताए । भैंसे–भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदीको ६ र २ नम्बर वडामा ५ किलोमिटर सडक फराकिलो पार्ने काम भइसकेको भण्डारीले बताए ।

उनका अनुसार कटिङ र वाल उठाउने काम भएको छ । एक लेनको भैंसे–भीमफेदी सडकलाई दुईलेनको बनाउन लागिएको हो । नालासहित १० मिटर निर्माण कम्पनीले भैंसेदेखि भीमफेदीसम्मै सडक भत्काएर छोड्दा यात्रुले भने सास्ती भोग्दै आएका छन् । भैंसे–भीमफेदी सडक खण्डको ११ किलोमिटरमध्ये अधिकांश स्थानमा कटिङ गरेर त्यसै छोडिएको, कतिपय स्थानमा तत्कालीन अवस्थाको कालोपत्रे उप्काएर अलपत्र पारिएको छ । निर्माण कार्य अघि नबढ्दा सवारी दुर्घटनाको जोखिम पनि बढेको चालकहरु बताउँछन् । स्थानीयहरुले धुवाधुलो र हिलाम्मे सडकका कारण यात्रा गर्न कठिनाई भएको बताए।

स्थानीय बद्री तामाङले भिमफेदीदेखि भैंसेसम्मको बाटो हिलाम्मे र धुलाम्मे यात्रा अत्यन्तै कष्टकर बनेको गुनासो गरे । उनले यसको जिम्मेवारी ठेकेदार कम्पनीले लिने की सरकारी निकायले हो ? भन्दै प्रश्न गरेका छन् । ‘भृकुटी र एलिजावेदको सवारी भएको बाटोमा हिलो र धुलोले स्वागत गर्दा कुरुप हुँदो रहेछ ।,’ तामाङले भने । उक्त सडक राणाकालदेखि नै भारत र काठमाडौं उपत्यका आवतजावत गर्ने छोटो मुख्य मार्ग हो ।स्थानीय रेशम लामाले कटिङ र वाल उठाउने कार्य सकिएपछि सडक सरसफाई र ग्रेडिङ गरे जनताले कष्टकर यात्रा गर्नु नपर्ने बताउँछन् ।

स्थानीय आशिष अस्लामी मगरले भैंसे–भीमफेदी सडक खण्ड स्तरोन्नतीको जिम्मेवारी पाएको ठेकेदार कम्पनी र सरकारी निकाय कता छन् भन्दै प्रश्न गरे। भैंसे–भीमफेदीको सडक हुँदै दैनिक साना सवारी हेटौंडा र काठमाडौं आवतजावत गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*