सर्वोच्चमा आन्दोलन जारी, प्रधानन्यायाधीश राणाबाहेक कोही पनि इजलासमा बसेनन्

अखबार हब
२०७८ कार्तिक २३, मंगलवार १६:४०

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले गरिरहेको आन्दोलनले मंगलबार पनि निरन्तरता पाएको छ।

प्रधानन्यायाधीश राणाले नियमित अवस्थामा जस्तै सबै मुद्दाको पेशी तोके पनि उनीबाहेकका अरु न्यायाधीशले मुद्दाको सुनुवाइ गरेनन्।

यसअघि राणा र अरु न्यायाधीशबीच बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दाको सुनुवाइ गर्ने एवं राणाले आफ्ना लागि इजालस नतोक्ने सहमति भएको थियो।

तर उक्त सहमति विपरीत राणाले सोमबार बन्दीका मात्रै निवेदन राखेर आफूसहितको संयुक्त इजलास तोकेका थिए भने मंगलबार एकल इजलास तोकेर सुनुवाइ गरेका छन्।

बाकी न्यायाधीशका लागि राणाले ९ वटा संयुक्त इजलास तोकेका थिए। इजलासमा मुद्दा सुनुवाइ गर्ने बेलामा अघिल्ला दिनमा जस्तै न्यायाधीशहरु मंगलबार पनि संयुक्त छलफलमा बसेका छन्।

न्यायाधीशहरुबीच राजीनामा माग्दै सुरु गरिएको आन्दोलनबाट पछि नहट्ने सहमति बनेको स्रोतले जानकारी दियो।

एक न्यायाधीशले देश सञ्चारसँग भने, ‘हामी जारी आन्दोलनबाट पछि हट्ने पक्षमा छैनौँ। हामीबीच मतभेद रहेको भन्ने कुरा पनि सत्य होइन।’

न्यायाधीशसँगै नेपाल बारले पनि आन्दोलन जारी राखेको छ। आन्दोलनका नयाँ कार्यक्रम तय गर्न छलफल गरिरहेको बारले मंगलबार पनि कालोपट्टी बाँधेर राणाको राजीनमा मागेको छ। न्यायाधीश र बारको आन्दोलनका कारण २९० वटा मुद्दाको सुनुवाइ प्रभावित भएको छ।

न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले एकल बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेर निवेदन खारेज गर्ने आदेश दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*