मदिराले मातेका पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले एयरपोर्टमा कर्मचारी कुटे

अखबार हब
२०७८ कार्तिक २२, सोमबार १२:०७

काठमाडौं। भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए। एक जना यात्रु केही मातेका मात्रै थिएनन्, उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए।

भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नासु सुमन थापाले ६ बोतल मदिरा देखेपछि ती यात्रुलाई सोधे–‘साथमा कतिजना हुनुहुन्छ ?’ प्रश्न सुन्नेबित्तिकै ती यात्रुले थापाको गालामा एक थप्पड लगाए र भने ‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ।’

नासु थापालाई चड्काउने व्यक्ति थिए नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी। नासु थापाले विनम्रतापूर्वक भने ‘तपाईको कुटाईबाट म धन्य भएँ। अब म तपाईलाई छोडौं ?’ यो घटनापछि भन्सार जाँचपासमा खटिएका अन्य कर्मचारीहरु भेला भए। रेग्मीलाई तुरुन्तै भन्सार अधिकृतले नियन्त्रणमा लिए।

विस्तारै यात्रु र विमानस्थल तथा भन्सार कर्मचारीको भीड बढ्यो। हल्लीखल्ली भयो। कुटाईको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईसम्म पुग्यो। भट्टराईले यो घट्ना भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई ब्रिफ्रिङ गरे। यो ब्रिफ्रिङपछि जतिसुकै ठूलो मान्छे भएपनि भन्सार ऐन अनुसार कारवाही गर्ने निर्णय भयो।

भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ। उनले ६ बोतल मदिरा ल्याएकोले जफत गरियो। त्यसपछि रेग्मीलाई दुर्व्यवहार गरेकोले पाँच हजार जरिवाना गरियो। यो अधिकतम जरिवाना हो। रेग्मीका नाममा काटिएको जरिवानाको रसिद भन्सार कार्यालयमा सुरक्षित छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभी फुटेज पनि सुरक्षित छ।

रेग्मीको स्वास्थ्य जाँच गराइयो। उनले मदिरा सेवन गरेको पुष्टि भएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ। तर ‘भीआइपी’ भन्दै उनलाई त्रिभुवन विमानस्थल कार्यालयले छाडिदियो। घटना पनि गुपचुप राख्न कर्मचारी वृत्तमा सर्कुलर भयो।

रेग्मी लन्डनमा गत सोमबारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए। बिजमाण्डूबाट साभार

यसमा तपाइको मत

Your email address will not be published.


*