प्रधान सेनापती शर्माको बाहुलीबाट ऐतिहासिक चिसापानीगढीको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास हुने
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको काममा गाउँपालिकाले सक्रियता बढाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् ।
प्रधान सेनापती प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा भोलि कात्तिक १७ गते विशेष समारोहकाबीच सो आयोजना निर्माणको शिलान्यास गरिने उनले जानकारी दिए । कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिसकिएको छ । निर्माण व्यवसायी कम्पनी अनकरमाउन्टेनरगोले जेभीसंग गएको कात्तिक ७ गते ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका योजना प्रमुख बद्री सापकोटाले जानकारी दिए ।
चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गरिने सापकोटाले बताए ।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायतको उपस्थिति रहने गाउँपालिकाको कार्यालयले जनाएको छ ।







