पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन
नेपाल पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो ।
तीन दिनअघि उच्च रक्तचाप भएपछि ६० वर्षीय गुप्तालाई परिवारजनले विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरेका थिए । अवस्था थप गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भईरहेको थियो ।
सिरहामा पत्रकारिताको जग गाडेका गुप्ता त्यहाँबाट ब्रोडसिट अखबार प्रकाशन गर्ने पहिलो व्यक्ति थिए । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णले उपाध्यक्ष गुप्ताको निधनले आफूहरु मर्माहित भएको बताए ।
उनले गुप्ताको निधनले सम्पूर्ण सञ्चारजगतमा ठूलो क्षति पुगेको बताउँदै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् । उनको अन्तिम संस्कार गृहजिल्लामै गरिने पारिवारिक स्रोतले जनाएको छ ।







