आज विजया दशमी : टीकाको साइत १० बजेर २ मिनेटमा
काठमाडौं । आज विजयादशमी । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरूको ठूलो चाड हो दशैँ । यतिबेला घर–घरमा दशैँ आएको छ । एक वर्षको प्रतीक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।
शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, सहरमा अस्थायी बसोबास गर्नेहरू घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे ।
हो, साँच्चै दशैँ खास छ । यो महत्वपूर्ण चाडमा यसपटक कोरोनाको कारण उल्लसमय नभएपनि मानिसहरूमा बेग्लै आनन्द छ ।
आज विजया दशमी । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन नौ देवीको पूजापाठ गरी आज विजया दशमी मनाइँदै छ ।घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।
असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैँको महिमा गाउन सकिन्छ ।
यसपालीको टीकाको साइत १० बजेर २ मिनेटबाट सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैँले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक ।
हामीकहाँ तिहारमा लक्ष्मी अर्थात धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैँमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।
माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैँ कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।
दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशीर्वाद लिने गरिन्छ ।
दशैँमा टीका लगाउँदा आशीर्वाद दिइन्छ, संस्कृतका ऋचा उच्चारण गर्दै । चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।
दशैँमा घरमा आफूभन्दा ठूला सदस्यबाट आशीर्वाद लिने चलन छ । अनि मान्यजनका घरमा गएर टीका थापिन्छ । वर्षदिनमा एकपल्ट लामो छुट्टीमा परिवारका साथ मामाघर जान पाउने भएर हुनसक्छ । केटाकेटी दंग देखिन्छन् ।







