दुई महिनामै बुद्ध एयरका चार जहाज आकस्मिक अवतरण

अखबार हब
२०७८ आश्विन ११, सोमबार १४:४५

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरियो। ७३ जना यात्रु सवार विमान विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा चक्का नखुलेपछि काठमाडौं फर्काएरै सुरक्षित अवतरण गरिएको हो।

नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका उपनिर्देशक त्रिलोचन पौडेलले काठमाडौं विराटनगरका लागि उडेको विमानमा समस्या देखिँदा काठमाडौं फर्काएरै सुरक्षित अवतरण गरिएको जानकारी दिए। ‘चालकको कुशलताले अप्रिया दुर्घटना हुन पाएन। विराटनगरमा अवतरण गर्न लाग्दा चक्का ननिस्केको भन्ने छ,’ उनले भने।

‘काठमाडौंको धावनमार्गमा पुगेर फर्किहाल्ने चालक दलका सदस्यहरुले बताएका थिए,’ जहाजभित्र रहेका पुष्कर मानन्धरले भने, ‘काठमाडौंको आकाशमाथि पुगेपछि पनि जहाज अवतरण नगरेपछि डर लाग्यो।’

यसरी बुद्ध एयरको विमान आकस्मिक अवतरण गरिएको यो पहिलो पटक भने होइन। यसअघि सोमबार नै काठमाडौंबाट पोखराका लागि उडेको विमान आकस्मिक अवतरण गरिएको थियो। काठमाडौंबाट पोखराका लागि बिहान साढे ७ बजे उडेको फ्लाइट नम्बर नं. यु–६०१ को ९एन एजेओ विमान सोमबार काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो।

जहाजको ककपिटमा धुँवा उडेपछि आकस्मिक अवतरण गरिएको थियो। त्यसअघि गत साउन ११ मा पनि बुद्ध एयरका २ विमान आकस्मिक अवतरण गरिएका थिए। काठमाडौंबाट धनगढीका लागि उडेको ६९ जना सवार विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो। त्यस्तै, सोही दिन काठमाडौंबाटै नेपालगञ्जका लागि उडेको विमानमा एक जना यात्रु बेहोस भएपछि काठमाडौंमै आकस्मिक अवतरण गर्नुपरेको थियो।

त्रिभुवन नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका उपनिर्देशक पौडेल अचानक देखिने समस्याका कारण आकस्मिक अवतरण गर्नुपर्ने बताउँछन्। ‘उडानभन्दा अघि इन्जिनियरले परीक्षण गरेरै उडान गरिन्छन्’, पौडेल भन्छन्, ‘उड्दाउड्दै अचानक सिर्जना हुने समस्या, भैपरी आउने समस्याका कारण सुरक्षित अवतरण गर्नुपर्ने विकल्पमा जानुपर्ने हुन्छ।’

निश्चित घण्टा उडिसकेपछि उडान गर्न नमिल्ने भए पनि बुद्धका विमान त्यस्तो उडान समय काटिसकेका नभएका पौडेलको दावी छ। ‘विमान पुराना भन्ने हुँदैन,’ पौडेल भन्छन्, ‘निश्चित घण्टा उडान गरेपछि उडान भर्न नमिल्ने भन्ने प्रावधान छ। तर, बुद्धको सनदर्भमा त्यस्तो केही देखिँदैन।’

यस्तै, बुद्ध एयरले पनि विराटनगरतर्फको विमान काठमाडौं फर्काएरै अवतरण गरिएको भनेर विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काएरै सुरक्षित अवतरण गरिएको उल्लेख गरेको छ। ‘जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरे,’ बुद्ध एयरले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षित अवतरण गरेको छ।’

विराटनगरका लागि उडे पनि काठमाडौंमै फर्काइएका यात्रुलाई अर्को विमानबाट विराटनगर फर्काउने तयारी गरेको नागरिक उड्ड्यन प्राधिकरण कार्यालय विमानस्थललले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*