कृषि अनुदानको प्रणाली परिवर्तन हुन्छ, अब उत्पादनका आधारमा अनुदानः मन्त्री पौडेल

अखबार हब
२०८२ चैत्र १३, शुक्रबार २१:४१

हेटौंडा। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि क्षेत्रमा प्रवाह हुँदै आएको अनुदान प्रणालीलाई पूर्ण रूपमा परिमार्जन गरिने घोषणा गरेका छन्।

शुक्रबार हेटौंडामा आयोजित “बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला” को उद्भाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले हालको अनुदान वितरण प्रक्रियाले वास्तविक किसानलाई लाभ पुर्‍याउनुको सट्टा अल्छी बनाएको टिप्पणी गरे। उनले अबका दिनमा वितरणमुखी अनुदानलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिने स्पष्ट पारे।

‘हामी अनुदानको मोडालिटी परिवर्तन गर्दैछौँ,’ मन्त्री पौडेलले भने, ‘किसानले कति उत्पादन गर्छन्, सोही आधारमा राज्यले प्रोत्साहन दिने व्यवस्था मिलाइनेछ। यसले कृषिमा वास्तविक व्यवसायीकरण ल्याउने हाम्रो विश्वास छ।’

उत्पादनमा आधारित प्रणाली अपनाए पनि युवा स्वरोजगारका कार्यक्रमलाई भने निरन्तरता दिइने उनले बताए। विशेष गरी शैक्षिक प्रमाणपत्र धितो राखेर प्रदान गरिने सस्तो दरको कृषि ऋणलाई यथावत् राखिने मन्त्रीको भनाइ छ। युवाहरूलाई कृषिमा आकर्षित गर्न र पलायन रोक्न सरकारले यो नीति लिएको उनको भनाई छ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सुरु भएको उक्त मेलामा ४० वटा स्टलहरू रहेका छन्।

प्रदर्शनीमा रैथाने बालीहरु कोदो, जुनेलो, फापर,हस्तकला तथा घरेलु उत्पादन राखिएको थियो ।

संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजित यस मेलामा करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चार दिनसम्म चल्ने यो मेलाले प्रदेशको कृषि अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*