“जाउँ है पोखरा” टोली हेटौंडामा, बैशाखमा फेवा महोत्सव

अखबार हब
२०८२ चैत्र १३, शुक्रबार १८:५९

हेटौंडा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ “जाउँ है पोखरा” अभियानको टोली पूर्वी नेपालको भ्रमण पूरा गरी बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ ।

होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालित यो अभियानले पूर्वी नेपालका वीरगंज, विराटनगर र इलामपछि शुक्रबार हेटौंडाका पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ ।

अभियानबारे जानकारी दिँदै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दिगो पर्यटनको मुख्य आधार आन्तरिक पर्यटक नै भएको बताएका छन् । ‘२५ वर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक देखिएकाले हामीले यसलाई निरन्तरता दिएका हौं,’ सुवेदीले भने, ‘अहिलेको विश्वव्यापी आर्थिक मन्दी र बाह्य पर्यटनमा देखिएको न्यूनताका बीच आन्तरिक पर्यटनलाई नै जोड दिनुको विकल्प छैन ।’

अभियानले पोखरालाई पूर्वी नेपालका सहरहरूसँग हवाई र स्थल मार्गमार्फत सिधा जोड्ने लक्ष्य राखेको छ।

पोखरालाई पर्यटनको राजधानीका रूपमा चिनाउँदै टोलीले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको ”२१ औं फेवा नव वर्ष महोत्सव” मा सहभागी हुन हेटौंडावासीलाई निम्तो दिएको छ । महोत्सवको अवसरमा होटलहरूको दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने संघले घोषणा गरेको छ ।

हाल पोखराको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको र यहाँका  एक हजार २ सय होटलमा ४० हजार बेड क्षमता रहेको जानकारी गराइएको छ ।

पोखरामा बञ्जी जम्पिङ, जीप लाइनिङ, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक गतिविधिका साथै आध्यात्मिक पर्यटनका लागि सन्ध्याकालीन आरती समेत सञ्चालन भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*