मकवानपुरमा डढेलो नियन्त्रणका लागि १५ मेसिन र ३७ किमि अग्निरेखा तयार
हेटौंडा । वन डढेलोको उच्च जोखिममा रहेको मकवानपुरमा यस वर्ष डढेलो नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति र भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका अनुसार ३७ किलोमिटरभन्दा बढी अग्निरेखा सफाइ, वन हेरालुको परिचालन र आधुनिक मेसिनको प्रयोगले गर्दा यस वर्ष डढेलोको प्रभाव न्यून देखिएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनशक्तिको दुर्घटना बीमा समेत सुनिश्चित गरिएको हो ।
मंगलबार कार्यालयले ‘वन डढेलो व्यवस्थापन सप्ताह’ अन्तर्गत आयोजना गरेको पत्रकार सम्मेलनमा डिभिजनल वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले कार्यालयको सक्रियता, जनचेतना र पूर्वतयारीका कारण यस वर्ष हालसम्म जिल्लामा वन डढेलोबाट ठूलो क्षति नभएको जानकारी गराएका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको फागुनदेखि जेठसम्म डढेलोबाट ५ सय ७४.२५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । सो अवधिमा १ सय २ वटा रुख, १ हजार १ सय ३७ खम्बा, १० हजार २ सय ९९ लाथ्रा र १ लाख ३५ हजार ६२ बिरुवा नष्ट भएका थिए । तर, चालु आर्थिक वर्षको चैत महिनामा मात्रै करिब ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको र त्यसलाई समयमै नियन्त्रणमा लिइएको डिभिजन वनले जनाएको छ ।
कार्यालयका अनुसार देशभरका डढेलोको उच्च जोखिममा रहेका ७७ जिल्लामध्ये मकवानपुर १८ औं स्थानमा पर्दछ । जसमा बागमती र बकैया गाउँपालिका क्षेत्रलाई जिल्लाको डढेलोको ‘हटस्पट’ मानिन्छ ।
वन अधिकृत हेमकुमार पाठकका अनुसार यस वर्ष डढेलो नियन्त्रणका लागि प्राविधिक र भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । जसअन्तर्गत ३७.१ किलोमिटर पुरानो अग्निरेखा सफा गरिएको छ भने ४ किलोमिटर नयाँ अग्निरेखा निर्माण गरिएको छ । डढेलो लागेको समयमा पानीको सहज उपलब्धताका लागि २१ स्थानमा पानी पोखरी निर्माण भइरहेको जानकारी गराए ।
वनलाई व्यवस्थित बनाउन २ सय २५ हेक्टर क्षेत्रमा ‘थिनिङ’ अर्थात् वन पत्ल्याउने कार्य सम्पन्न गरिएको छ । साथै, आधुनिक प्रविधिको प्रयोग गर्दै सुकेका पात व्यवस्थापनका लागि १५ वटा ‘लिफ ब्लोअर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डढेलोको जोखिमपूर्ण समय फागुनदेखि जेठसम्मका लागि प्रत्येक सामुदायिक वनमा कम्तीमा दुई जना वन हेरालु परिचालन गरी निगरानीलाई तीव्र पारिएको कार्यालयले जनाएको छ ।
डढेलो नियन्त्रणमा खटिने जनशक्तिको सुरक्षालाई ध्यानमा राख्दै वन तथा वातावरण मन्त्रालयले ५ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमाको व्यवस्था गरेको छ । मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमी सुख्खापन डढेलोका मुख्य कारण रहेकाले समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको अधिकृत पाठकले बताए ।







