हेटौंडामा जारी महोत्सवका कारण करिब ३ हजार विद्यार्थीको परीक्षा प्रभावित
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० टिसियन चौरमा जारी दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सवका कारण स्थानीय विद्यार्थीको परीक्षा प्रभावित भएको भन्दै व्यापक गुनासो आएको छ।
महोत्सवको कारण हेटौंडा–१० स्थित सोलिड्यारेटी इन्टरनेसनल माध्यमिक विद्यालय, तुलसी मेयर माध्यमिक विद्यालय र ज्ञानदा माध्यमिक विद्यालयका करिब ३ हजार विद्यार्थीको परीक्षा महोत्सवका कारण प्रभावित भएको जनाइएको छ।
आउँदो आइतबारदेखि आन्तरिक परीक्षा सुरु हुने तयारी भइरहेका बेला बिहानदेखि रातिसम्म चल्ने ठूलो आवाजका साउण्ड सिस्टमका कारण अध्ययन तथा परीक्षा वातावरण बिग्रिएको विद्यालयहरूले बताएका छन्।
सोलिड्यारेटी माध्यमिक विद्यालयकी प्रिन्सिपल रिना आचार्यका अनुसार विद्यालयमा करिब १७ सय विद्यार्थी अध्ययनरत छन्। एसईई बाहेकका कक्षाहरूको परीक्षा चैत ८ गतेबाट सुरु हुने तर महोत्सवको होहल्लाले विद्यार्थीलाई ध्यान केन्द्रित गर्न समस्या भइरहेको उनको भनाई छ ।
यस्तै समस्या हेटौंडा सामुदायिक आँखा अस्पतालले पनि भोगिरहेको जनाएको छ। अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठका अनुसार चर्को आवाजका कारण बिरामीको आँखाको जाँच तथा उपचारमा समेत असर परेको बताए ।
विद्यालयहरू र अस्पतालले महोत्सव रोक्न वा व्यवस्थापन गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र वडा नम्बर–१० मा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तानले भने विद्यार्थीलाई समस्या नपर्ने गरी दिउँसो २ बजेपछि मात्र साउण्ड सिस्टम प्रयोग गरिएको दाबी गरे। “महोत्सवलाई नकारात्मक रूपमा मात्र नलिन आग्रह गर्दछु। यसले खेलकुद र व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ,” उनले भने।
मेलाकै माध्यमबाट पुरुष महिला, भलिबल, ताइकन्दो, दौड प्रतियोगिता, ब्याड मिन्टन्, कराँते लगायतका खेलकुदको आयोजना गरेका उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले भने विद्यार्थीको समस्याबारे औपचारिक रूपमा जानकारी नआएको बताइन्। ‘महोत्सव सञ्चालनका लागि स्वीकृति दिइएको तर यसरी समस्या आएकोबारे जानकारी आएको छैन्’ उनले भनिन् ।
विद्यालय र अस्पतालले भने समस्याको विषयमा प्रमुख प्रशासकीय अधिकृत भरत गौतममार्फत ज्ञापनपत्र बुझाएको बताएका छन्।
यसपटक महोत्सव १५ दिनसम्म सञ्चालनका लागि अनुमति दिइएको छ, जबकि कार्यविधिमा सामान्यतया ७ देखि १० दिनसम्मको अवधि मात्र उल्लेख छ।







