बागमती प्रदेशका अर्थ सचीव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोप

अखबार हब
२०८२ चैत्र २, सोमबार ०९:२०

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ ।

अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारको दावी हो ।

एच.के. इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैंया दिएको भेटिएको अख्तियारको दावी हो ।

उक्त रकम विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरुको खातामा राखिएको अख्तियारको दाबी छ ।

त्यसपछि उनीहरुले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको अख्तियारको दावी छ ।त्यसपछि देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अख्तियारको दावी हो ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरण अनुसार, घटना साउन, २०७९ सालको हो । साढे पाँच महिना मात्रै महानिर्देशक बनेका उनी १ असार, २०७९ देखि १६ कार्तिक, २०७९ सम्म राजस्व अनुसन्धान विभागमा थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनी देउवा परिवारसँगको विशेष सम्पर्कसूत्र मार्फत विभागको महानिर्देशक भएर गएका थिए । अख्तियारको दावी अनुसार, महानिर्देशक भएको एक महिनामै उनले घुस लिएका थिए ।

अख्तियारले उनीमाथि घुस लिएको आरोपमा भ्रष्टाचारका साथै गैरकानुनी रुपमा सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

उनी यसअघि पनि पटकपटक विवादमा परेका सहसचिव हुन् । शक्ति र पहुँचका भरमा आकर्षक कार्यालयहरुमा पोष्टिङ हुने उनी त्यसक्रममा पटकपटक विवादमा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*