रवि हेटौंडा आउने दिन पारेर जिल्ला सभापति पराजुलीले छाडे पार्टी

अखबार हब
२०८२ फाल्गुन ११, सोमबार ०९:४३

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेका छन्। पार्टीका केन्द्रिय सभापति रवि लामिछाने जिल्लामा आयोजना हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न आउने दिन पारेर जिल्ला सभापति पराजुलीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सर्लाहीमा काङ्ग्रेसका सभापति गगन थापालाई भेटेर उनले रास्वपा परित्यागको घोषणा गरेका हुन् ।

लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न पराजुलीले मूल्य, आदर्श र व्यवहारबीच देखिएको अन्तरका कारण पार्टी परित्याग गरेको जनाएका छन्।

पराजुली करिब ३० वर्षसम्म नेपाली कांग्रेस मा सक्रिय राजनीति गरेपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी मा आबद्ध भएका थिए। उनले रास्वपाको संगठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पराजुलीले १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए।

उक्त मतलाई उनले जनविश्वासको रूपमा लिएको बताएका छन्। उनले पार्टीभित्र पछिल्लो समय देखिएका सीमित व्यक्तिको प्रभाव, चाकरीवाद, आलोचनाप्रति असहिष्णुता तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गरेका छन्। आफूले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनासहित राजनीति गरेको दाबी गर्दै व्यक्तिगत स्वार्थ, आर्थिक प्रभाव वा चाकरीवादसँग सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन्।

पार्टी स्थापना गर्दा अघि सारिएको उद्देश्य र व्यवहारबीचको अन्तर बढ्दै गएको महसुस भएपछि आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको उनले बताएका छन्। साथै, रास्वपामा रहँदा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।

जिल्ला सभापति पदमा रहँदा विभिन्न कोणबाट सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै पराजुलीले भविष्यमा पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

उनको यो निर्णयसँगै मकवानपुरमा रास्वपाको संगठनात्मक संरचनामा प्रभाव पर्ने आँकलन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*