चुनाव जित्न नसक्ने देखेपछि रास्वपा चुनाव भाड्नेतर्फ अगाडि बढ्योः ओली
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव जित्न नसक्ने देखेपछि चुनाव भाड्नेतर्फ अगाडि बढेको दाबी गरेका छन् ।
झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले चुनाव हार्ने निष्कर्ष निकालेका कारणले झण्डा जलाउने, अभद्र व्यवहार गर्ने र तनाव बढाउने काम गर्न लागेको देखिएको बताएका हुन् ।
उनले भने, ‘यसको अर्थ आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुने दिने, पक्षमा नतिजा आउँदैन भने चुनाव हुन नदिने, मैले केही दिन यताका घटनाक्रम हेर्दा रास्वपाले चुनाव भाड्न खोजेको जस्तो देखिन्छ ।’ निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन भन्दै अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र निष्पक्ष र धाँधलीरहित चुनाव हुनुपर्ने बताए । साथै, उनले मतदाताले आफूले चाहेको दल र उम्मेदवारलाई निर्धक्क मत दिन पाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले शान्ति भडकाउन खोज्ने प्रयास भइरहेको बताउँदै सबै पक्षले चिन्ता जाहेर गरेको देखिएको बताए ।
अध्यक्ष ओलीले भने, ‘वातावरण शान्तिपूर्ण देखिराखेको छैन र शान्ति भड्काउन खोजिने प्रयासहरू निकै देखिन्छन् । यस्तो खालको परिस्थिति छ । यसै परिस्थितिलाई ध्यानमा राखेर सबै पक्षहरूबाट चिन्ता जाहेर भएको पनि देखियो । आ–आफ्ना स्वार्थ पनि हुनसक्छ । तर जे भए पनि यतिबेला विभिन्न कोणहरूबाट कुराहरू आएको छ । निर्वाचनपछि पनि द्वन्द्व कायम रहने स्थिति देखिन्छ त्यसकारण द्वन्द्वका कारणहरू पहिले समाधान गरेर निर्वाचनमा जाऔँ भन्ने कुराहरू पनि देखिन्छ । त्यसमा विभिन्न पक्षहरू हुन सक्दछन् तर यो विचारणीय कुरा त छ ।’
अध्यक्ष ओलीले निर्वाचनपछि पनि द्वन्द कायम रहने स्थिति देखिएको भन्दै द्वन्दका कारण निराकरण गरेर बल्ल निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै सबै राजनीतिक दलले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताए ।







