कृषकलाई मर्का पर्ने गरी कुनै निर्णय हुँदैनः कृषि मन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषकको हितविपरीत सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पारेका छन् ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बिहीबार हेटौंडामा भएको ‘प्रदेश स्तरीय पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका’ तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषकलाई सेवा प्रवाहमा असर पुग्ने गरी कुनै निर्णय नहुने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री पौडेलले भने, “कृषकलाई सेवा प्रवाहमा असर पुग्ने गरी कुनै निर्णय भएको छैन र हुँदैन। बागमती प्रदेशको समग्र कृषि विकासका लागि हामी सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरेर मात्र अगाडि बढ्नेछौँ। प्रदेशको समृद्धिका लागि यहाँहरू सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दछु।”
पशुपालन क्षेत्रमा गुणस्तरीय उत्पादनको महत्वबारे चर्चा गर्दै मन्त्री पौडेलले असल अभ्यासका कार्यहरू लागू गर्नुपर्नेमा जोड दिए । यसबाट उत्पादनको गुणस्तर सुध्रिने, निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने र स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना हुने उनको भनाइ थियो।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघीय पशु सेवा विभागका प्रतिनिधि, प्रदेशभरका ८ वटा पशुसेवा कार्यालयका प्रमुख, नेपाल पशुपालक महासंघका प्रतिनिधि, बँगुर व्यवसायी संघका प्रतिनिधि तथा विभिन्न किसान संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा सहभागीहरूले निर्देशिकालाई कृषकमुखी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।







