रास्वपाको समानुपातिक सूचीमा चितवनबाट मात्रै २१ जना

अखबार हब
२०८२ पुष १५, मंगलवार १४:२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा चितवनबाट नागरिकता लिएका २१ जनाको नाम समावेश भएको देखिएको छ।

चितवनबाट सबैभन्दा धेरै २१ जना समानुपातिकतर्फको उम्मेदवार सूचीमा परेका छन् । रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको जिल्ला समेत हो चितवन ।

चितवनपछि मोरङबाट १५ जना उम्मेदवार रहेका छन्। सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको कतिपय जिल्लाबाट भने सामानुपातिकतर्फका उम्मेदवार शून्य छ ।

चितवनमा डा। मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी शेर्पा, सन्देश गुरुङ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा छन् । त्यस्तै, खर्सआर्यमा चितवनबाट सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल उम्मेदवार रहेका छन् । सूचीअनुसार चितवनबाट १६ जना खसआर्य क्लस्टर र ५ जना आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार रहेका छन् ।

मोरङबाट डा. राम लामा, मिङमा ग्लाबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मानकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, विशाल गुरुङ, रञ्जनी श्रेष्ठ, डा। ओजश्वी शेरचन, मीरा महर्जन र तुलसा वाइवासहित १३ जना आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । खसआर्य महिलामा मोरङका रञ्जु दर्शना र थारु क्लस्टरबाट सुरेन्द्र चौधरी सिफारिस भएका छन् ।

चितवन ठेगाना उल्लेख भएर बन्द सूचीमा परेका २१ जनामध्ये पाँचजना आदिवासी जनजाति समूहका छन् भने बाँकी खस–आर्य समूहबाट रहेका छन्। चितवन–२ बाट अघिल्लो निर्वाचनमा पार्टी सभापति रवि लामिछाने विजयी भएका थिए।

प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा चितवनका तीन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र २ मा रास्वपा विजयी भएको थियो। यद्यपि समानुपातिक सूचीबाट भने सांसद निर्वाचित भएका थिएनन्।

चितवन आदिवासी थारु बहुल जिल्ला भए पनि बन्द सूचीमा आदिवासी थारु समुदायका तर्फबाट नागरिकता लिएको जिल्ला चितवन उल्लेख भएको कुनै नाम देखिएको छैन। त्यसैगरी चितवनमा मुख्य बसोबास रहेको सीमान्तकृत आदिवासी समुदाय चेपाङबाट पनि बन्द सूचीमा नाम परेको देखिँदैन।

काठमाडौंबाट ५, ललितपुर र भक्तपुर जिल्लाबाट ३र३ जना मात्रै समानुपातिक सूचीमा छन् । सूचीअनुसार ७७ जिल्लामध्ये ३५ जिल्लाबाटै समानुपातिक उम्मेदवार परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*