काँग्रेस निकट महिला संघ मकवानपुरमा विवाद

अखबार हब
२०८२ असार १६, सोमबार २२:१६

हेटौँडा । नेपाली कांग्रेसनिकट महिला संस्था नेपाल महिला संघ मकवानपुरमा विवाद उत्पन्न भएको छ ।

महिला संघको पदाधिकारीले एकलौटी, अपारदर्शी र एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण गरेको भन्दै विवाद बाहिर आएको हो ।

महिला संघकी सदस्यता वितरण समन्वय संयोजक ईन्दिरा न्यौपानेले सोमबार पत्रकार सम्मेलन गरी महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ र सचिव निलम देवकोटाले एकलौटी ढंगले सदस्यता वितरण गरेको र संगठनका पुराना र जिम्मेवार सदस्यहरुको समेत सदस्यता नवीकरण नगरेको भन्दै आपत्ति जनाएकी हुन् । संगठनको विधानविपरीत अपारदर्शी ढंगबाट सदस्यता वितरण गरी अधिवेशन गर्न लागिएको भन्दै कुनै पनि हालतमा यहि अवस्थामा अधिवेशन हुन नसक्ने पार्टी मकवानपुरकी सहसचिवसमेत रहेकी न्यौपानेले बताइन् ।

‘संगठनको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्दा नगर समिति, क्षेत्रीय समिति सभापतिहरुले अनिवार्य प्रमाणित गर्नुपर्ने व्यवस्थाविपरीत नगर र क्षेत्रीय समितिलाई समेत बेवास्ता गरी संगठन अध्यक्ष र पदाधिकारी एकलौटी ढंगले अघि बढेको भन्दै उनले आपत्ति जनाइन् । यसरी प्रमाणाीकरणबिनै सिफारिस गरिएको सदस्यता केन्द्रीय समितिले स्वीकृत नगर्ने भएकाले यहि अवस्थामा जिल्ला अधिवेशन नै हुन नसक्ने उनले बताइन् ।

पार्टी जिल्ला सभापति बुद्ध लामाले पार्टीको एउटा भातृ संगठनको रुपमा रहेको संस्थाले पार्टीको निर्देशन र विधानविपरीत काम गरिए अन्य विकल्प अपनाउने बताए ।

संगठन जिल्ला अध्यक्षलगायत पदाधिकारीले सीमित व्यक्तिहरुको बीचमा सदस्यता वितरण गरी आम महिला संघका पुराना क्रियाशिल सदस्य एवं सक्रिय महिला सदस्यलाई सदस्यता प्राप्तिमा बञ्चित गरेको भन्दै संगठन सदस्यता वितरण समन्वय संयोजक ईन्दिरा न्यौपानेले आफ्नै समेत सदस्यता नवीकरण नगरिएको भन्दै आश्चार्य व्यक्त गरिन् । संगठनको क्षेत्र नम्बर १ कि सभापति तारा कार्की, क्षेत्रीय कोषाध्यक्ष सीता गिरी, हेटौँडा नगर सभापति लक्ष्मी गौतमलगायत जिल्ला सदस्यहरुको पनि सदस्यता नवीकरण नगरिएको उनले बताइन् ।

घटनाप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘एकपक्षीय र अपारदर्शी ढंगबाट वितरण गरिएको सदस्यताप्रति पार्टी पूर्ण असहमत रहेको र सम्पन्न गर्ने भनिएको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशनमा पार्टीको कुनै पनि तहका नेतृत्व संलग्न नरहने भएकोले अधिवेशनका सबै कार्यक्रम स्थगन गरी पार्टीको जिल्ला नेतृत्वसंग आवश्यक छलफलका लागि निर्देशन गरिन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति वुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाललगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*