वन मन्त्रालयको बजेट खर्चमा मुख्यमन्त्रीको चिन्ता
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशको वन तथा वातावरण मन्त्रालयले विनियोजित बजेट सन्तोषजनक रुपमा खर्च गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म जम्मा २५ प्रतिशत मात्र बजेट खर्च हुनु निराशाजनक रहेको बताएका हुन् । उनले बजेट कम खर्च गर्ने तर आगामी वर्षका लागि बढी बजेट माग गर्ने प्रवृत्ति उचित नभएको भन्दै मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
मुख्यमन्त्री लामाले प्रदेशको प्राकृतिक स्रोतको उचित व्यवस्थापनमार्फत राजस्व वृद्धि गर्न सकिने स्पष्ट पारे। मुख्यमन्त्री लामाले मन्त्रालयहरूलाई आगामी दिनमा कार्यप्रणाली सुधार गरेर प्रभावकारी कार्यान्वयनमा ध्यान दिन समेत आग्रह गरेका छन् ।
नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत प्रभावकारी काम गर्नुपर्ने चुनौती रहेको उनको भनाई छ ।
उनका अनुसार स्वदेशी काठ प्रयोगलाई बढावा दिन नीतिगत सुधार गर्नु आवश्यक रहेको बताए। नेपालमा उत्पादन भएको काठको लागत मूल्य घटाएर सुलभ रूपमा नागरिकको पहुँचमा पुर्यााउन जरुरी रहेको उनले बताए ।
सरकारको स्रोत कम भएकाले बजेट सिलिङ कम पठाएको भनेर आलोचना भइरहेको उनको भनाई छ । बजेट सिलिङमा व्यापक सुधार गर्ने गरी प्रदेश सरकारको स्रोत व्यवस्थापनमा मन्त्रालयहरू अग्रसर हुनुपर्ने उनको भनाई छ ।
साथै उनले प्रचारमुखी भन्दा पनि नागरिकको आयआर्जनमा जोड्ने गरी कार्यक्रमहरू तयारी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् ।







