हेटौंडामा लोकतन्त्रको रक्षा र गणतन्त्रको सुदृढीकरणबारे अन्तरसंवाद
हेटौंडा । नेकपा एमाले मकवानपुरको आयोजनामा तथा सामाजिक संघ संस्था समन्वय संयन्त्रको संयोजनमा लोकतन्त्र, संविधान र उपलब्धि विषयक नागरिक अन्तरसंवाद कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले लोकतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने स्पष्ट पार्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएका उपलब्धिहरूलाई सबै लोकतन्त्रवादी दलहरूले स्वामित्व लिनुपर्ने बताउनुभयो। साथै, राजतन्त्रको नाममा आम नेपाली जनताको मनोविज्ञान बिगार्ने प्रयत्नलाई रोक्न सबै पक्ष एकजुट हुनुपर्ने उहाँको धारणा थियो।
यसै क्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले राजतन्त्र फर्काउने दिवा सपना नदेख्न चेतावनी दिनुभयो। उहाँले नेपालको संविधानले राजतन्त्रलाई अस्वीकार गरिसकेकोले अब त्यसको पुनरागमन असम्भव रहेको उल्लेख गर्नुभयो। गणतन्त्र स्थापना भएपछिका परिवर्तनहरू उजागर हुन नसक्दा प्रतिगामी सोच बलियो भएको भन्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ लगायत नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।







