मकवानपुरमा हिदमले फर्काएको अनेरास्ववियुको बिरासत

हेटौंडा । मकवानपुरमा आठ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने गर्दछ । जसमा जिल्लाका सबै राजनीतिक दलले मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउने गर्छन ।
जिल्लाकै ठूलो शैक्षिक संस्था मकवानपुर क्याम्पसको हरेक स्ववियु निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलको सिंगो नेतृत्व पंक्ति खटिने गरेको छ । यस वर्षको निर्वाचनमा पनि सबै राजनीतिक दलको नेतृत्व मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनमा प्रत्यक्ष खटियो ।
सफल भए, हिदम लामा । मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले पार्टी उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई कमाण्डर बनाएर अगाडि सारेको थियो । लामा विद्यार्थी कालमा मकवानपुर क्याम्पसमा स्ववियु पदाधिकारीसमेत हुन ।
लामाको कमाण्डमा अगाडि बढेको अनेरास्ववियुले २ वर्ष अघिको स्ववियु निर्वाचनको नतिजा मात्रै सुधार गरेन, मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको गुमेको बिरासत पनि फिर्ता ल्याएको छ । २०३८ सालदेखि स्ववियुमा जित्दै आएको अनेरास्ववियुले २०७९ को निर्वाचनमा आएर पहिलोपटक हार व्यहोरेको थियो । अनेरास्ववियुले त्यो हारसँगै गुमाएको बिरासत २ वर्षमै फिर्ता लियो ।
अनेरास्ववियुको प्राप्त वर्तमान उपलब्धीको जस कमाण्डर लामालाई जानुको पछाडि, उनको आफ्नै राजनीतिक योजना र उनलाई साथ दिने विद्यार्थी नेताहरु बलशाली बन्न पुगे । भीमफेदी गाउँपालिकामा दुई–दुई पटक गठबन्धनलाई पछारेर अध्यक्ष निर्वाचित भएका हिदमले आफ्नो राजनीतिक कौशलमा अनेरास्ववियुलाई मकवानपुरमा बलियो संगठनका रुपमा स्थापित गराउन सफल भए ।
हिदम स्ववियु निर्वाचनको सन्दर्भमा दुई धारमा विभाजित कांग्रेसलाई एकै ठाउँमा उभ्याउन सफल भए । अनेरास्ववियुभित्रकै प्राविधिक समस्यालाई समाधान गर्दै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई अनेरास्ववियुका सभापति उम्मेदवार प्रशिद्ध रेग्मीलाई समर्थन गराउन लागाए । त्यति मात्र नभई, हिदमले पार्टी पंक्रिलाई सक्रिय ढंगले स्ववियु निर्वाचनमा परिचालित पनि गराए ।
यस्तै, कमाण्डर हिदमलाई एमाले पार्टी जिल्ला सदस्य तथा विद्यार्थी इञ्चार्ज आकाश अधिकारी र अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलाले दरिलो साथ दिए । अधिकारी यसअघि नै मकवानपुर क्याम्पसको स्ववियु सचिव भइसकेका नेता हुन् । बर्तौला पनि मकवानपुर क्याम्पसकै विद्यार्थी राजनीतिबाट खारिएका नेता हुन् ।
मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमालेबाट पार्टी जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, माओवादीबाट निवर्तमान जिल्ला अध्यक्ष तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र पार्टीका वर्तमान जिल्ला संयोजक भिम पाख्रिन सक्रिय ढंगले लागेका थिए । अनेरास्ववियुको जितसँगै पार्टी र नेताहरुको प्रतिष्ठानको लडाईमा एमाले उपाध्यक्ष लामा सफल बन्न पुगे ।
मकवानपुर बहुमुखी क्याम्पस नेकपा एमालेको नेता उत्पादन गर्ने कारखानको रुपमा परिचित छ । यही क्याम्पसमा दुई पटक स्ववियु सभापति भएका महेश बर्तौला प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक छन् । पार्टी उपाध्यक्ष लामा पनि मकवानपुर क्याम्पसकै उत्पादन हुन् । २०६० सालमा नवीन सिग्देल सभापति भएपछि अनेरास्ववियुले यहाँ पिल्लर गाढ्न सकेको थियो ।
२०३८ सालमा रामकृष्ण श्रेष्ठ सर्वसम्मत स्ववियु सभापति भए । २०६० सालमा नवीन सिग्देल सभापति भएका थिए । सिग्देलको नेतृत्वमा स्ववियु गठन भएपछि २९ दिनसम्म निरन्तर आन्दोलन गरेर क्याम्पस समितिमार्फत घोषणा गर्न लगाइएको थियो ।
माओवादीको द्वन्द्वकालीन अवस्थामा क्याम्पस समितिले स्ववियु घोषणा गर्न डराउँदा अनेरास्ववियुले २९ दिनसम्म निरन्तर आन्दोलन गरेको थियो । २०६० सम्म जिल्लाका कुनै पनि सामुदायिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैनथ्यो । मकवानपुर क्याम्पसकै आन्दोलनले जिल्लाका क्याम्पसहरुमा पनि स्ववियु निर्वाचन गर्ने बाटो तय गरेको थियो ।
कसले कति मत ल्याएर जिते ?
स्ववियु निर्वाचन–२०८१ मा मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै निर्वाचित भएको छ ।
स्ववियु निर्वाचन–२०८१ अन्तर्गत् ५ चैतमा भएको निर्वाचनबाट अनेरास्ववियुका प्रशिद्ध रेग्मीले ७०६ मत ल्याएर मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको बिरासत फिर्ता ल्याएको हो ।
उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित बन्न पुगे । उनै छोइसाङले ५ चैत २०७९ मा भएको स्ववियु निर्वाचनमा सभापति जित्दै अनेरास्ववियुको बिरासत खोसेका थिए ।
मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक अखिल क्रान्तिकारी विजयी बनेको थियो । त्यतिबेला क्रान्तिकारीले नेपाल विद्यार्थी संघ (नेविसंघ) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)सँग गठबन्धन गरेर चुनाव लडेको थियो ।
स्ववियु निर्वाचनअन्र्तगत् मकवानपुर क्याम्पसको स्ववियु सचिवमा रेग्मी नेतृत्वको प्यानलबाट नेविसंघका उत्सव ढुंगाना ७ सय ११ मत ल्याउँदै विजयी बने । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेलले ७ सय ४ मत पाउँदै जित दर्ता गरे ।
सदस्यमा मनोज घलान (७८९), उमेश चौधरी (७२५), दिवस चापागाई (७३४), साजिर अन्सारी (६७३), कृषन थिङ (६३८), मन्दिप थापा (६३३), विवश अर्याल (६१६), अतित अधिकारी (६२०), रोहन गिरी (४७३), मिनेश पुडासैनी (६०४) विजयी बने ।
यस्तै, अर्पण बल (४२७), पवित्रा विक (४३२), निर्मला गोले (४२७), प्रेमी घलान (४२०), कुशलराज भट्टराई (५१४) र रामकृष्ण घोरासैनी (३९२) निर्वाचित भएको निर्वाचन अधिकृत सन्देश विडारीले जानकारी दिए ।