हेटौंडा आँखा अस्पताललाई सांसद सिंहको १० लाख
हेटौंडा । मकवानपुरका संघीय सांसद दीपकबहादुर सिंहले आफ्नो तलबबाट प्राप्त भएको रकममा थप गरी १० लाख रुपैयाँ हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।
मकवानपुर निर्वाचन १ का सांसद एवं पूर्वाधार विकास समितिका सभापति सिंहले सांसद तलबबाट प्राप्त भएको रकममा केही थप गरी ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको चेक मंगलबार तीलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् ।
चेक बुझ्दै डा. रुइतले सांसद सिंहले उपलब्ध गराएको रकम सीमान्तकृत समुदायको आँखाको ज्योति फर्काउने कार्यमा प्रयोग गर्ने जानकारी दिए । हेटौंडा सामुदायिक आँखा अस्पतालको सभाहलमा आयोजित एक कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा सामुदायिक आँखा अस्पताललाई उक्त रकम सहयोग गरेको बताए । निर्वाचनमा सिंहले आफूले पाउने तलबभत्ता जनताका निम्ति प्रयोग गर्ने बताएका थिए ।
हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक एवं तीलगंगा आँखा अस्पतालका निर्देशक सिद्धिलाल श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा डा. सुनील थकालीलगायतले बोलेका थिए ।