थाहानगरको अर्को पहिचान रमणीय पदमार्ग

अखबार हब
२०८१ असार १२, मंगलवार २२:२६

मकवानपुर । बेमौसमी तरकारी खेती र सुन्दर पर्यटकीय क्षेत्रको कारण छुट्टै परिचय बनाएको मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तब्यको रुपमा पनि परिचित हुन थालेको छ ।

संघीय राजधानी काठमाण्डौं र बागमती प्रदेशको राजधानी हेटौंडाको समदुरीमा रहेको थाहानगरमा खुलेका विभिन्न पदमार्ग र ती पदमार्गहरुमा अउने पर्यटकहरुको संख्याले थाहानगरलाई पर्यटकीय पदमार्ग गन्तब्यको छुट्टै पहिचान दिन थालेको हो ।

नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ (बाईरोड) संग जोडिएको थाहानगरमा हालसम्म खुलेका ७ वटा पदमार्ग र त्यहाँ आउने पदयात्रीहरुका कारण थाहा नगर पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको स्थानीय युवा कृषक निरोज प्रधानले बताए ।

थाहा नगरको ७ वटै पर्यटकीय पदमार्गका परिकल्पना थाहा नगरका युवा फोटोपत्रकार गणेश विष्टले गरेका हुन् । पर्यटकीय क्षेत्रहरुमा घुम्न, बिभिन्न धार्मिक, सास्कृतिक, ऐतिहाँसिक, कृषि, रमणीय वातावरण र स्थानीय जीवनशैलीको फोटो खिचेर त्यसको प्रचारप्रसार गर्न सक्रिय बिष्ट फुर्सद हुनेबित्तिकै थाहानगरको बिभिन्न स्थानहरुको अध्ययन, अवलोकन र प्रवद्र्धनमा पुगिहाल्छन् ।

बिष्टलाई स्थानीय युवाकृषक निरोज प्रधान, युवाब्यवशायी श्रीराम कार्की, युवाउद्यमी माधव कार्की, अनिता विष्ट, नरहरि पौडेलले भरपुर साथ दिएका छन् ।

त्यसोत थाहा नगरपालिकाका स्थानीयहरुले पदमार्गमा आउने पर्यटकहरुलाई गर्ने स्वागत सत्कारका कारण पनि पदयात्रीहरु थाहानगरका पदमार्गहरुमा पदयात्रा गर्न उत्साहित भएको युवा उद्यमी माधव कार्कीले बताए ।

पछिल्ले समयमा गणेश बिष्ट लगायत युवाहरुले परिकल्पना गरेको ‘टिष्टुङ–पालुङ’ पदमार्गमा काठमाण्डौ ह्याप्पी हाइकरका ३२ जना र स्थानीय ८ जना समेत ४० जना पदयात्रीको टोलीले पदयात्रा गरेका छन् ।

करिव १७ किलोमिटर लामो पदयात्रामा पदयात्रीहरु प्राकृतिक मनोरमताको साथै गाउँले जीवनशैली बुझ्दै, रमाउँदै, गाउँ, जंगल, पाखा, सिम, चौर छिचोल्दै अग्ला डाँडा उक्लदै, ओर्लर्दै यात्रा गर्नु यो पदयात्रा रुटको प्रमुख विशेषता हो ।

पदयात्राको क्रममा भेटिने खुकुरी पार्क, खेल मैदान, मुस्कान झरना, नर्बेढु∙ा, चिया बगान, दमार, कुईभिर, नाँगेचुली असाध्यै रमाइलो र अदभूत रमणीय क्षेत्रहरु हुन् । टिष्टुङबाट पालुङ निस्कने यो पदमार्गको ठाउँ ठाउँमा भेटिने डाँडाकाँडाले प्रकृतिक भ्यूटावरको अनुभुति दिन्छ ।

यो रुटमा तामाङ जनजातिको बाहुल्यता रहेको छ । टिष्टुङको नर्बेचोकबाट सुरुहुने यात्रा भाँङखोरिया मा पुगेर पालुङसंग भेट हुन्छ । सोल्टुहुँदै फाँटबजारको होमस्टे पुगेर स्थानीयपनको आभास पदयात्रीहरुले गर्न पाउँछन् । होमस्टेमा पुग्दा ‘टिष्टुङ–पालुङ’को पदयात्रा त सकिन्छ तर ‘पालुङ–आग्रा’ पदमार्गको अर्को ढोका खुल्छ । फाँटबजारको यो होमस्टे क्षेत्र ‘पालुङ–आग्रा’ पदयात्राको बेसक्याम्प पनि हो । होमस्टेमा बास बसेर विहान पालुङगढी, गोरखनाथ, पाण्डुकेश्वर, शंखमुल त्रिवेणीधाम लगायत क्षेत्रको भ्रमण गर्न पनि सकिन्छ ।

पदयात्रामा अत्यन्तै रुची भएका ह्याप्पी हाइकरका टिम लिडर राजाराम फुयाँलले थाहा नगरका पदमार्गहरु मध्ये ‘टिष्टुङ–पालुङ’ पदमार्ग उत्कृष्ट भएको र पर्यटन प्रवद्र्धका लागि यस रुटले भविष्य बोकेको बताए । गाउँले परिवेशमा मौसम अनुसारको फलफूल र कन्दमुल खाँदै यात्रा गर्दा आनन्दित तुल्याएको फुयाँलको प्रतिक्रिया छ ।

थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले परिकल्पना गरेका पदमार्गहरुमा बिभिन्न क्षेत्रहरुबाट दुईहजार बढी पर्यटकहरुले यात्रा गरिसकेका छन् । संघीय राजधानी काठमाण्डौंको भिडभाड र कोलाहलबाट मुक्तभई थकान मेट्न र प्रदेश राजधानी हेटौंडा लगायत तराई क्षेत्रका अत्याधिक गर्मीबाट शितलताको महशुश गर्नको लागि पनि थाहानगरका पदमार्गहरु उपयुक्त गन्तब्य भएको पदयात्रीहरुले बताएकाछन् । यस्ता पदमार्ग लगायत पर्यटकीय क्षेत्रको विकासकालागि स्थानीय सरकारले बिशेष योजना सहित व्यवस्थित र प्रवद्र्धन गर्नुपर्ने फोटो पत्रकार विष्टको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*