मनहरीको अनियमितता र बेथिति विरुद्ध पाँच राजनीतिक दलको ध्यानाकर्षण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा भएका विकास निर्माण सम्बन्धि काममा ढिलासुस्ती, बेथिति र अनियमितता भएको भन्दै पालिकाका पाँच राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा समाजवादीका प्रतिनिधिहरूले गाउँपालिका उपाध्यक्ष रेखा थापालाई ज्ञापनपत्र बुझाउँदै विकास निर्माणका काममा भएको अनियमितताको विरोध गरेका हुन्।
उनीहरूले पालिकाभित्रका ५ वटा पुल निर्माण, ढुंगा गिटी बालुवाको अनियमित वितरण लगायतका विषयमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरूले विभिन्न अनलाइन सञ्चार माध्यम र प्रिन्ट मिडियामा आएका समाचारको सत्यतथ्य सुचना उपलब्ध गराउनुको लागि समेत माग गरेको राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीका सभापति गोविन्द सापकोटाले जानकारी दिए ।







