हेटौंडामा आज देखि एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता

अखबार हब
२०८० मंसिर १३, बुधबार ०८:४९

मकवानपुर । हेटौंडामा आज देखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुन लागेको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिताको बारेमा मंगलबार हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीहरुको सहभागिता रहने संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिएका थिए। प्रतियोगितामा एक सय एक जना खेलाडीहरुले नाम दर्ता गराएका उनले बताए ।

प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ,दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र पाउँने अध्यक्ष श्रेष्ठले बताए । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् ।

यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौदेखि पन्ध्रौसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगाएत विभिन्न विधामा ३८ जना खेलाडीहरुले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए। प्रतियोगिता आयोजना गर्नका लागि करीब ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

स्विस नियम अनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागीताका लागी प्रत्येक खेलाडीले दश हजार तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागी खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने समेत बताईएको छ । प्रतियोगिता आज देखि १७ गते सम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*