समस्या समाधानमा सरकार जिम्मेवार नबने मकवानपुरमा मिल्क होलिडे अझै लम्बिने

अखबार हब
२०८० मंसिर ९, शनिबार २०:२३

मकवानपुर । पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरणमा देखिएको समस्यामा मकवानपुर नागरिक समाज समितिले सरोकारवाला पक्षसँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै मकवानपुरबाट निर्वाचित संघिय सांसद तथा पूर्व राज्यमन्त्री दिपकवहादुर सिंहले मकवानपुरमा पछिल्लो समय देखिएको किसानको दुध विक्रि नभएको समस्याको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका छन् ।

मकवानपुरका पशुपालक किसानहरुले उत्पादन गरेका दैनिक २० हजार लिटर दुधले बजार नपाएको प्रति सरकार सवाफदेहि हुनु पर्ने उनको भनाई छ । बर्षेनि मकवानपुरमा यो खाले समस्या देखिएको छ, अब पनि समस्याको समाधान नगरे मन्त्रीको मन्त्रालय अगाडी गाईभैंसी बाध्न हुने उनको भनाइ छ । आफ्नो तबरबाट मकवापुरमा देखिएको दुध सम्बन्धी समस्या सदनमा लगेर समाधानको लागि पहल गर्ने जनाए ।

त्यस्तै कार्याक्रममा बोल्दै एमाले सचेतक तथा मकवानपुरबाट निर्वाचित अर्का संसाद महेशकुमार बर्तौलाले किसानको समस्या सुन्नु पर्ने निकाय मौन रहेको आरोप लागाएका छन् । संघिय सरकारका कृषिमन्त्री सौराहको गैडा जस्तै भएको बताउनै किसानको यति ठुलो समस्या हँुदासमेत मन्त्री चिर निन्द्रामा रहेको उनको आरोप छ । किसानको समस्यामा राज्य जवाफदेही नहुदा किसानहरुले बर्षेनि यसै खालको समस्या भोग्न बाध्य भएको बताए ।
साथै उनले हेटौंडामा भारतबाट अवैध रुपमा दुध भित्रिदा समेत स्थानिय प्रशासन मौन रहेको बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सांसद भारती पाठकले प्रदेश सरकार जिम्मेवार नदेखिदा किसानले यसखालको समस्या भोग्न बाध्य भएको आरोप लागाएकी छिन् । प्रदेश सरकारको प्राथमिकतामा किसान पर्नु पर्नेमा अन्य क्षेत्र पर्दा यस खालको समस्या देखिएको उनले बाताइन् ।

हेटौंडाका बजारहरुमा दैनिक अवैध रुपमा तराईका जिल्लाहरुबाट भित्रिएको दुध नियमन गर्न नसक्दा मकवानपुरका किसाहरुले यस्तो खालको समस्या भोग्नु परेको मकवानी एग्रो प्रालिका संचालक तथा अगुवा किसान भवनाथ दाहालले बताए । मकवानपुरमा तराईका जिल्लाबाट अवैध रुपमा भित्रएको दुध स्थानिय प्रशासनले नियमण गरेको खण्डमा किसानहरुले भोग्दै आएको दैनिक २० हजार लिटर दुधको मिल्क होलिडे समस्या तत्काल हल हुने उनको भनाई छ ।

यता नेपाल डेरी एशोशियसन मकवानपुरका जिल्ला प्रतिनिधी निराजन कोईरालाले हाल बजारको अवस्था बुझ्दा उपभोग्य मुल्य समायोजन गर्न सके बजार २० देखि ३०% बढी चलायमान हुने बताए । तर सो कार्य गर्नको लागि कच्चा दुधको खरिद मुल्य र दाना चोकरको मुल्यमा पनि समायोजन हुन जरुरी रहेको उनको भनाई छ ।

उपभोगमा आएको व्यापक कटौतीले गर्दा उत्पादित दुग्ध पदार्थको उत्पादन बढी हुने भएको अवस्थामा अन्य मुलुकबाट दुध तथा दुधजन्य पदार्थहरु भित्रिंदा थप जटिलता श्रृजना भएको, त्यसैले सो कार्यलाई निरुसाहित गर्दै आफ्नो उत्पादन सके स्थानिय बजारमा, नसके अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्न राज्यले पहल कदम अगाडी बढाएमा समस्याको समाधान हुने कोईरालाले बताए । हाल बजारको विक्रि स्थितिको प्रक्षेपण अनुसार आगामी २ महिना अझ बढी जिल्ला मिल्क होलिडे हुने परिस्थिति विध्यमान रहन सक्ने औल्याएका छन् । राज्यले यस विषयमा गम्भीरताका साथ समस्याको समाधानमा केन्द्रीत नभए व्यवसायीक किसान संघ,संस्था, उद्योगहरु धरासायी हुने उनले बताए ।

मकवानपुर नागरिक समाज समितिका मुख्य संयोजक गुञ्जनबहादुर न्यौपानेको समाध्यक्षतामा भएको कार्यक्रममा पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा.गौरीमान श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणि दाहाल लगायत जिल्लाका अगुवा किसान, डेरी उद्योग संचालहरुको सहभागिता रहेको थियो । कार्यक्रम अखबारहव सञ्चार प्रालिले सहजिकरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*