छठ पूजाका लागी हेटौंडाको राप्तीतट झकिझकाउ
मकवानपुर । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने छठपर्वको हेटौँडामा पनि सुरु भएको छ। छठ पूजाका लागी हेटौंडाको राप्तीतटलाई झकिझकाउ बनाएर सजाउने काम भइरहेको छ ।
पछिल्लो समय हेटौँडामा पनि विशेष महत्वका साथ मनाउन थालिएको छठपर्वको तयारी अन्तिम चरणमा पुगेको छठपूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दास सिनोरियाले जानकारी दिए।
हेटौंडाको राप्तीतटमा सरसफाइ गर्ने, जमिन सम्याउने, गेट बनाउने पूजा गर्ने स्थानका लागि पन्डाल बनाउने र शृंगारको काम भइरहेको छ ।
यस वर्ष हेटौंडाको राप्तीतटमा ६० हजार भक्तजन आउने अनुमान छ । सामूहिक रुपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पन्डाल तयार हुँदै छन् ।
छठ पर्वले मकवानपुरमा मधेसी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको दास बताउँछन् ।
आइतबार साँझको अर्घ्य दिएर मनाइने छठ पर्व विधिवत् रुपमा भने शुक्रबारबाट सुरु भएको हो । छठको पहिलो दिन वर्तालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।








