जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमित घट्दै
मकवानपुर। जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या घट्न थालेको छ । साउनबाट देखिन थालेको डेंगु कात्तिक दोश्रो साताबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । ‘भदौ र असोजमा डेंगु सङ्क्रमितको संख्या बढेको थियो, चिसो सुरु भएसँगै सङ्क्रमितको संख्या घट्दै गएको छ,’ सूचना अधिकारी घिमिरेले भने ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा डेंगु सङ्क्रमितको संख्या ७४४ पुगेको छ । साउन १ गतेदेखि हालसम्म पुरुष ३८२ र महिला ३६२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । साउनमा १२३, भदौमा ३२९, असोजमा १७२ र कात्तिक २२ गतेसम्म १२० जनामा डेंगु सङ्क्रमण भएको छ ।
गत २४ घण्टामा ५ जना डेंगु सङ्क्रमित थपिएका छन् । बुधवार जिल्लाको हेटौँडा उपमहानगरपालिकाका ४ जना र बाहिरी जिल्लाको एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन । यहाँ ५११ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्मितको संख्या शुन्य रहेको छ ।
त्यस्तै थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६७ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै हेटौँडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ११ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुमा गत आर्थिक बर्षमा पाँच हजार ८६४ जनामा डेंगु संक्रमण भएको थियो जसमध्ये तीनहजार २०५ जना पुरुष र दुइ हजार ६५९ जना महिला रहनुभएको थियो ।







