मकवानपुरमा एकै दिन ६१ बिगाहा गाँजा फँडानी
मकवानपुर । मकवानपुर प्रहरीले एकै दिन ६१ बिगाहा ३ कठ्ठा लागुऔषध गाँजा खेती फडानी गरेको छ ।
मकवानपुर प्रहरीको लागुऔषध गाँजा तथा अफिम खेती फँडानी गर्ने अभियान अन्र्तगत गाँजा खेती फँडानी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमवार जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ स्थित सोराङ, रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ बिगाहा, वडा नम्बर – ४
जयसिङताल, यतीखोला क्षेत्रमा २७ बिगाहा ३ कठ्ठा र कैलाश गाउँपालिका वडा नम्बर –९ गैरीखेत,साखिनी, वडा न.१० को बाजोखेत क्षेत्रमा १९ बिगाहा लागुऔषध गाजाँ खेती फँडानी गरिएको हो ।
मकवानपुर प्रहरीले लागुऔषध गाँजा र अफिम खेती फडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको बताएको छ ।
प्रवक्ता भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागुऔषध फँडानीका लागि खटिएका छन् । प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन् । यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए ।
प्रहरीले बर्षेनी मकवानपुरको राक्सिराङ र कैलाश क्षेत्रका विभिन्न स्थानमा लागुऔषध फँडानी गर्दै आएको भएता पनि ती क्षेत्रमा अझै गाँजा र अफिमको अवैध खेती भइरहेको पाईन्छ ।







