पर्यटन प्रवर्द्धन गर्न हेटौंडाका साइकलयात्रीको मेची–महाकाली साइकल यात्रा

अखबार हब
२०८० कार्तिक ११, शनिबार १८:३७

मकवानपुर । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर हेटौंडाका ११ र बुटवलका २ सहित १३ जना साइकलयात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।

मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन् ।

हेटौंडाको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ ।

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए ।

यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए । काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उनको भनाइ छ ।

पूर्वी नाका काँकडभिट्टाबाट शनिबार बिहान ८ बजे सुरु भएको सो यात्रा शनिबार सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासघं मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*