यात्रुसँग बढी भाडा लिने ८ सवारीले फिर्ता गरे रकम

अखबार हब
२०८० कार्तिक १०, शुक्रबार १८:३७

मकवानपुर। जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको छ । दसैंको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी कारवाही गरेर यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराएको हो ।

दसैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडा वापत २० हजार २५० रुपियाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो । चाडपर्वको मौका छोपी यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि हामीले चेकजाँचलाई तीव्र पारेका थियौं, बढी भाडा तिर्न बाध्य हुनुभएका ५५ जना यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराउन सफल भएका छौं, ट्राफिक प्रहरी प्रमुख आचार्यले भन्नुभयो ।

हेटौँडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिए पनि यात्रुसँग १८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०र१५० सम्म रकम फिर्ता गराइएको छ । सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएको छ ।

त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८५० भाडादर तोकिएको भए पनि १५ सय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।

ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १३७ सवारी र टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*