प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन् । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
साथै उनले आव ०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन् ।
बागमती प्रदेश सभाको असार २१ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो । दुबै विधेयक प्रमाणीकरण भएसँगै प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुल्ने छ । प्रदेश सरकारले असार १ गते आगामी आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट प्रदेश सभामा पेश गरेको थियो ।







