मकवानपुरमा ६ महिनामा १५ बालिका बलात्कृत
मकवानपुर । मकवानपुमा गत ६ महिनामा १५ जना बालिका बलात्कृत भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) मकवानपुरले आज हेटौंडामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध बार्षिक पूर्व समीक्षा कार्यक्रममा सो विषयको जानकारी गराएको हो ।
बाल अधिकारका घटनामा १८ जना बालिका पीडित भएकोमा १५ जना बलात्कार, ३ जनामा यौन दुव्र्यवहार र १ बालकको हत्या भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।
जिल्लामा पछिल्लो ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४६ वडा घटना भएको इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीले बताए ।
महिला अधिकारको घटनामा १९ जना पीडित भएकोमा ९ जना बलात्कार, २ जना बलात्कार प्रयास, १ जना हत्या र ७ जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो अवधिमा ७ वटा कुटपिटसहित हत्या प्रयासका घटना भएको जसबाट १ जना पुरुष र १ महिलाको हत्या भएको इन्सेक प्रतिनिधि अधिकारीले जानकारी दिए ।
कुटपिटसहितको हत्या प्रयासबाट ४ जना पुरुष र १ जना यौनिक तथा अल्पसंख्उक समुदायका व्यक्तिपीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।
पछिल्लो २ वर्षमा मकवानपुरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ५४ वटा घटना भएका छन् जसबाहेक सन २०२३ को ६ महिनामा मात्र ४८ वटा घटना भएको इन्सेकले जनाएको छ । इन्सेकको अभिलेख अनुसार सन् २०२१ मा ८६ र २०२२ मा ६८ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।







