पहिरोको कारण हेटौंडा हुँदै काठमाडौँ जाने दुई सडक अवरुद्ध
मकवानपुर । अविरल वर्षाको कारण हेटौंडा हुँदै काठमाडौं जाने दुई वटा सडक अवरुद्ध भएको छ । हेटौंडा हुँदै काठमाडौं जोड्ने कान्तिलोपथ पहिरोको कारण अवरुद्ध भएको छ ।
ललितपुरको भट्टेडाँडास्थित पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट काठमाडौं जाने सवारी साधनहरु बाटोमै रोकिएका छन् । सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएपछि सडक सञ्चालनमा आउने प्रहरीको भनाई छ ।
त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सवारी आवगमन बन्द छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार त्यहाँ सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पन्छाउन सकिएको छैन । पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घन्टा लाग्ने प्रहरीको अनुमान छ । भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सडक भने अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







