अपांग महासंघ बागमती प्रदेशद्वारा बजेटको विरोध

अखबार हब
२०८० असार १३, बुधबार २०:१९

मकवानपुर । राष्ट्रिय अपांग महासंघले बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको विरोध गरेको छ ।

राष्ट्रिय अपांग महासंघ वागमतीले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बजेटको विरोध गरेको हो । महासंघ प्रदेश अध्यक्ष अश्विन लम्सालले सामाजिक विकास मन्त्रालयअन्तर्गत् समावेश भएका योजनाले अपांगता भएकाहरुको उत्थान हुन नसक्ने दावी गरे । ‘हाम्रो क्षेत्रका लागि सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेट अधिकांश कार्यक्रम झारा टार्ने खालको मात्र छ ।’, उनले प्रदेश सरकारले आगामी वर्षका लागि विनियोजन गरेको बजेटले अपांगताको क्षेत्रलाई अर्थपूर्ण रुपमा समेट्न नसकेको बताए ।

उनले बजेटको संशोधनको माग समेत गरेका छन् । ‘अघिल्लो आवको तुलनामा यसवर्ष बजेटको आकार बढेपनि हाम्रो मागहरु सम्बोधन भएका छैनन् । हाम्रो मागभन्दै असाध्यै न्यून बजेट मात्र विनियोजन गरिएको छ । जसका कारण यस क्षेत्रको सम्बोधन हुनै सक्दैन ।’, लम्सालले भने ।

राष्ट्रिय अपांग महासंघ वाग्मती प्रदेशका व्यवस्थापक सीता मल्लले पहुँचयुक्त संरचना नहुँदा अपांगता भएकाहरुले समस्या झेल्दै आएको बताइन् । प्रदेश सरकारले निजामति सेवा प्रवेशमा समेत अपांगको कोटा कटाउन खोजेको उनको आरोप छ । यस विरुद्ध सर्वोच्चमा जाने तयारी भइरहेको उनले बताए । अपांगमैत्री संरचना, कानुन र व्यवहार आवश्यक रहेको प्रदेश व्यवस्थापक मल्लको भनाइ छ ।

बागमती प्रदेशसभामा एकजना अपांग भएका प्रदेशसभा सदस्य रहेकोमा उनले अपांगमैत्री संरचना नहुँदा अनेक समस्या झेल्नुपरेको जानकारी दिइएको छ । २०७८ को जनगणना अनुसार नेपालमा २ दशमलव २५ प्रतिशत अपांगता भएका व्यक्तिहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*