प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा, १ सय ५० जना सहभागि बन्दै
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले भोलिबाट हेटौंडामा आयोजना गर्न लागेको प्रथम युवा सम्मेलनको तयारी पुरा भएको छ । आज परिषद्ले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी गराएको हो । सम्मेलनमा प्रदेशका १३ वटा जिल्लाबाट समावेशी अवधारण अनुसार १ सय ५० जनाको सहभागि रहने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।
प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका छन् । सम्मेलनमा सहभागि हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएको र उनीहरु सहभागि हुने चौलागाईंले बताए । सहभागीको छनोटका क्रममा महिला, जनजाति, अल्पसंख्यक, सीमान्तकृत समूह, विद्यार्थी युवाको सहभागितालाई प्राथमिकतामा राखेर छनोट गरिएको बताए ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिको रुपमा सहभागी गराएको उनले बताए । सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर स्रोतव्यक्तिसँग अन्तरक्रिया गर्नेछन् ।
दुई दिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तक र नवीनतम् साँचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नुहुनेछ । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन ।
सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा। सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्नेछन् । डा। कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुन् भने, साख्व युवा उद्यमी हुन् । यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्नेछन् ।







