हेटौंडा अस्पतालको बजेट कटौती प्रति एमाले मकवानपुरको आपत्ती
मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि बजेट न्यून बिनियोजन गरेको भन्दै नेकपा (एमाले) मकवानपुरले विरोध जनाएको छ ।
अस्पतालको लागि न्यून बजेट छुट्याएर कर्मचारी कटौती गर्ने र सेवा प्रभावित पार्ने बागमती प्रदेश सरकारको नियत प्रति एमाले मकवानपुरले विरोध जनाएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मकवानपुरवासीको सदियौँको सपनामाथि धावा नबोल्न भन्दै एमालेले खबरदारी गरेको छ । पार्टी अध्यक्ष तथा बागमती प्रदेश सरकारका पुर्व मन्त्री एकालाल श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत यस्तो खबरदारी गरिएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्योपचारलगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै नै पछाडि परेको क्षेत्रको रुपमा रहेको तितो यथार्थलाई मनन गर्दै डोरमणि पौडेल नेतृत्वको तत्कालीन बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी कार्यान्वयनमा रहेको छ ।
हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत ल्याई सेवामा सुधार गरिँदै आएकोमा पुरानै अवस्थामा फर्काउने खेलमा वर्तमान सरकार रहेको विज्ञप्तिमा भनिएको छ । विगतमा ५० शैयाको हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत गएपछि एमाले नेतृत्वको सरकारकै पहलमा हाल ३०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत गरिएको थियो ।
हालको सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको उक्त प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्दै २१४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने, बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको भन्दै नेकपा (एमाले) मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरूको स्वास्थ्यमा खेलबाड गरिरहेको एमालेको ठहर छ । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न अदालतबाट भएको आदेशको अवहेलना गर्दै तथा सरकार आफैले बनाएको कानूनको समेत उल्लङ्घन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट पुन अलग्याउने काम भइरहेकोले दाबी विज्ञप्तिमा गरिएको छ ।
यस्ता प्रयत्नहरू तत्काल रोक्न, प्रतिष्ठानलाई विनियोजन हुँदै आएको बजेट कटौती गरेर अस्पतालको उपचार सेवामा असन्तुलन ल्याउने काम बन्द गर्न तथा प्रतिष्ठान एवं अस्पतालमा कार्यरत कर्मचारीहरूको पेशागत सुरक्षा गर्न नेकपा ९एमाले० मकवानपुरले माग गरेको छ ।








