पूर्व विद्यार्थीको समुहले गरे जनप्रियमा खानेपानीको फिल्टर सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनप्रिय माविका पूर्व विद्यार्थीहरुको समुहले विद्यालयलाई खानेपानी फिल्टर सहयोग गरेका छन् ।
२०६८ का एसएलसी समूहका विद्यार्थीहरुले आइतवार विद्यालयलाई ६ थान खानेपानी फिल्टर मेसिन हस्तान्तरण गरेका हुन् ।
विद्यार्थी समुहका संयोजक रुपक विकको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा फिल्टर हस्तान्तरण गरिएको हो ।
आफू पढेको समयमा विद्यालयमा पानीको व्यवस्थापन हुन नसक्दा विद्यालय नै बन्द गर्नुपरेको ती विद्यार्थीहरुले स्मरण गरे । कम्तिमा आफ्नो कमाईबाट केही रकम छुट्याएर भएपनि शुद्ध पानी आपूर्तिका लागि अभाव हुन नदिन पूर्व विद्यार्थीको समुहले फिल्टर हस्तान्तरण गरेको संयोजक विकले बताए ।
पूर्व विद्यार्थी समूहको यस्तो कार्य अत्यन्तै सकारात्मक भएको भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट सकेको कार्य गरे देश विकासको गतिमा अघि बढ्न कसैले रोक्न नसक्ने वडा अध्यक्ष कोईरालाले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितका अध्यक्ष रमेशप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरू व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरु, विद्यालयका प्रअ भुपेन्द्र चौलागाईं, जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा. विजय नेपाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व विद्यार्थीको अभियानलाई सहयोग गर्न प्रधानाध्यापक चौलागाईं र क्याम्पस प्रमुख नेपालले थप १÷१ थान गरि जम्मा ६ थान फिल्टर सहयोग गरेको संयोजक विकले जानकारी दिए ।







