स्यानिटरी प्याड बापतको रकम शिक्षकको खल्तिमा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले स्यानिटरी प्याड खरिद गर्नु पर्ने रकम शिक्षकको तलब भत्तामा खर्च गरेको छ ।
पालिकाले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न संघीय सरकार बाट पाएको अनुदान रकम शिक्षकको तलब भत्तामा खर्च गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/०७९ बमोजिम सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनका लागि प्राप्त अनुदान बापतको २१ लाख ९२ हजार ७४२ रुपैयाँ रकम शिक्षकको तलब भत्ता खर्च गरेको महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । साथै महालेखाले उक्त रकम सोधभर्ना गरि नियमित गर्न समेत सुझाव दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले भने स्यानिटरी प्याड खरिद गर्न छुट्याइएको बजेट शिक्षकको तलब भत्तामा खर्च गरेको स्वीकार गरेका छन् । ‘विद्यालयहरूमा स्यानिटरी प्याड पर्याप्त थियो । त्यसैले मन्त्रालयसँग सहकार्य गरेर रकम स्थानान्तरण गरिएको हो ।’–उनले भने ।
मनहरी गाउँपालिका वडा नम्बर –१ मा रहेको श्री बाल जीवन ज्योति माविका शिक्षक डि वि अर्यालले भने विद्यालयमा सरकारले पठाउने स्यानिटरी प्याडको गुणस्तरहीन भएको कारण विद्यार्थी छात्राहरूले प्रयोग गर्न असहज मानेको बताए । विद्यार्थी छात्राहरूले स्यानिटरी प्याड प्रयोग गर्न असहज मानेकै कारण सरकारको उक्त योजना प्रभावकारी हुन नसकेको समेत उनको भनाई छ ।
उक्त रकम रञ्जन कालाखेती पालिका अध्यक्षमा निर्वाचित भए पश्चातको आर्थिक वर्ष २०७८/०७९ को असार अन्तिममा शिक्षकको तलब भत्तामा निकासा गरिएको हो ।
यस्तो छ महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदन ।








